तनहुँमा ९० प्रतिशत बजेट खर्च «

तनहुँमा ९० प्रतिशत बजेट खर्च

दमौली-आर्थिक वर्ष २०७४-७५ का लागि तनहुँमा विनियोजित बजेटमध्ये ९०.८ प्रतिशत बजेट खर्च भएको छ । कुल ९ अर्ब ८९ करोड ५५ लाख ६७ हजार ३ सय ८१ रुपैयाँ विनियोजन भएकोमा असार मसान्तसम्म ८ अर्ब ९८ करोड ५० लाख ८४ हजार ३ सय ८५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जानकारी दिएको छ ।
चालूतर्फ ७ अर्ब ६४ करोड ८६ लाख १ हजार ८ सय ३५ रुपैयाँ विनियोजन भएकोमा ७ अर्ब १३ करोड ८५ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ खर्च भएको र पुँजीगत तर्फ २ अर्ब २४ करोड ६९ लाख ६५ हजार ५ सय ४६ रुपैयाँ विनियोजन भएकोमा १ अर्ब ८४ करोड ६५ लाख १७ हजार ४ सय ९५ रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक विष्णुहरि वाग्लेले जानकारी दिए । उनका अनुसार चालूतर्फ ९३.३३ प्रतिशत र पुँजीगत तर्फ ८२.१८ प्रतिशत रकम खर्च भएको छ ।
देशको जम्मा खर्च मध्ये तनहुँमा खर्च भएको बजेट ०.८३७२ प्रतिशत हो । असार मसान्तसम्म देशभर १० खर्ब ७३ अर्ब १६ करोड ३९ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ ।

९.२ प्रतिशत बजेट भने फ्रिज
आ.व. ०७४-७५ का लागि विनियोजित कुल रकमको ९.२ प्रतिशत फ्रिज भएको छ । विनियोजित रकममध्ये ९१ करोड ४ लाख ८२ हजार ९ सय ३५ रुपैयाँ खर्च नभई फ्रिज भएको हो । पुँजीगत तर्फ ४० करोड ४ लाख ४८ हजार र चालू तर्फ ५१ करोड ३४ हजार ९ सय ४५ रुपैयाँ खर्च हुन नसकेको वाग्लेले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी जिल्ला समन्वय समितिको ९ करोड २३ लाख ९६ हजार ९ सय ३७ रुपैयाँ बजेट फ्रिज भएको छ । त्यस्तै सडक डिभिजन कार्यालयको ७ करोड ५६ लाख ४८ हजार १ सय ३७ रुपैयाँ फ्रिज भएको छ भने जिल्ला प्राविधिक कार्यालयको ४ करोड २३ लाख ३८ हजार ९ सय ६४ रुपैयाँ फ्रिज भएको छ ।
जिल्ला सिँचाइ कार्यालयको ३ करोड २९ लाख ७२ हजार ३ सय ७९ रुपैयाँ फ्रिज भएको कार्यालयले जानकारी दिएको छ । स्थानीय तहमा ६५ करोड ९७ लाख विनियोजित भएकोमा ४ करोड ९० लाख १२ हजार १२ रुपैयाँ फ्रिज भएको छ ।
गत आर्थिक वर्षमा तनहुँमा ५० करोड ७९ लाख ३२ हजार २ सय फ्रिज भएको थियो । उक्त वर्ष कुल बजेटको ६.९७ प्रतिशत फ्रिज भएको थियो ।

राजस्व १५ प्रतिशतले बढ्यो
गत आर्थिक वर्ष राजस्व संकलन १५.५४ प्रतिशतले वृद्धि भएको छ । असार मसान्तसम्म ८२ करोड ९७ लाख ७६ हजार ५ सय ८५ रुपैयाँ राजस्व आम्दानी भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा सोही अवधिमा ७१ करोड ८१ लख ४४ हजार ८ सय ३४ रुपैयाँ राजस्व संकलन भएको थियो । सबैभन्दा करदाता सेवा कार्यालयबाट ४८ करोड २४ लाख ५७ हजार १२ रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै मालपोत कार्यालयबाट १२ करोड ७४ लाख ४३ हजार ७ सय ४९ रुपैयाँ, यातायात व्यवस्था कार्यालयबाट ८ करोड ६७ लाख ८९ हजार ८ सय, जिल्ला प्रशासन कार्यालयबाट ३ करोड २२ लाख ४६ हजार ३ सय ४० रुपैयाँ, जिल्ला वन कार्यालयबाट २ करोड १० लाख ६२ हजार, जिल्ला ट्राफिक कार्यालयबाट १ करोड ६९ लाख २६ हजार, नयाँ शहरबाट १ करोड १४ लाख ९० हजार राजस्व संकलन भएको छ । तनहुँबाट संकलित राजस्वबाट जिल्लाको जम्मा ९.२३ प्रतिशत मात्र खर्च धान्ने सक्ने कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्