जुँगाको लडाइँ कि समृद्धि ? «

जुँगाको लडाइँ कि समृद्धि ?

राजनीतिक मोडले विकासको महायज्ञमा होमिने अमूल्य समयलाई त्यसै झुलाइरहेको भान भइरहेकै छ ।

सत्तासीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताले नेपालको राजनीतिमा एउटा नवीन इतिहासलाई सम्भव गराएर देखाएकै हो । ‘नेपाल कम्युनिस्ट पार्टी’ ले ‘एकतामा बल हुन्छ’ भन्ने उक्तिलाई सार्थक तुल्याउँदा जनताले अवसरको आशामा विकास र समृद्धिको नारासँग नातो गाँस्न चाहन्छ । एउटा नौलो आयामको इतिहास कोर्ला भन्ने ठूलो आशामा जनता छन् । यसो भनिरहँदा प्रतिपक्षी पनि विकास र समृद्धिमै दोहोरी खेल्ला भन्ने आशा हो । सत्ता जसको हातमा होस्, जनताले चाहेको केन्द्रीय लक्ष्यभित्र मुलुकको स्थायी समृद्धि, लामो राजनीतिगत सङ्क्रमणको औपचारिक अन्त्य र जनतामा साँच्चै परिवर्तनको महसुस हुँदा अमनचयन प्राप्ति होला भन्ने नै हो । जनमुखी संविधान कायम गर्दै समृद्धिको आशा हो । सुशासन कायम गर्दै देशले भ्रष्टाचार र भयग्रस्त हजुराइँबाट मुक्ति पाउला भन्ने आशासँग दुई वाम एकताको सन्दर्भ पेचिलो बनेको हो । ‘समाजवाद उन्मुख जनताको जनवाद’ भन्ने नवीन मिलन बिन्दु तथा जबज र एक्काइसौँ शताब्दीको जनवाद भन्ने सोचसँग बहुदलीय शब्द हट्यो । यसको अर्थ जनताको अधिकार, जनताको हिजोको बलिदानमा सङ्कुचन भयो भन्ने भाव मेटिएको लाग्दैन, अर्थात् समाजवादसँग जनअधिकारको सम्मिश्रण हुने भाव गाँसियो । कार्ल माक्सको धारमा भौतिक सम्पन्नता र आर्थिक क्रान्तिका शीतयुद्ध चलिरहँदा भनौँ नेपाली माक्र्सवादको समर्थन भयो । हिजोदेखि भनिरहिएका समृद्धिका सपनामा सिद्धान्तभन्दा गुणात्मक परिवर्तन देखिनु आवश्यक छ । आजसम्मको विकासको बाधक तत्व के हो र को हो भनिरहने बहसको चुरो त अस्थिर राजनीति, भ्रष्टाचार, अन्योलता र प्रतिपक्षीसँग विरोधी पौँठेजोरी खेलेकै यथार्थ हुन् ।
ताजा इतिहासलाई नियाल्दा हिजो माओवादी केन्द्र बन्नु, आज नेपाल कम्युनिस्ट बन्नुले फुट त्यागेर जुटमा लागेको इतिहास पनि सराहनीय हो । तर, इतिहासका दिनलाई पूजा गरेर होइन, परिवर्तनसँग हातेमालो गरेर मात्रै नयाँपनमा जोस आउला । स्थानीय तहमा विकास र समृद्धिको रन्को चलेको छ त ? जनप्रतिनिधिलाई आफ्नो जिम्मेवारी, हिजोको घोषणपत्र र अबको भावी विकास तथा समृद्धिका बारेमा कुनै स्पष्टता छ ? नेपालको इतिहासमा कम्युनिस्ट शासनले नेतृत्व पाएको अवस्था र पछिल्लो चुनावी माहोलसँगै जोडिएको वाम एकताको वचनमा चुलिएको संशयमा समाधानको बाटो के त ? पार्टीमिलन र फुटको चक्रमा जेलिएका विगतलाई पक्कै सचेत भएर मनन गर्नुपर्छ । अब अन्योल, अस्थिरता, झन्झटिलो, स्वार्थी, राजनीतिगत सोच बदलिएर ग्रामीण विकासका बाटा सहज बन्लान् भन्ने अपेक्षा ग्रामीण जनतामा छ ।
जहाँ वैचारिक समानता हुन्छ, भावनात्मक मनमुटु जोडिन्छ त्यहाँ भागबन्डे सोचले तगारो हाल्नु असान्दर्भिक बन्छ । को कसको इतिहास सकिन्छ र कसको इतिहास बच्छ भन्ने विषय उठ्नुले एकताको स्थायित्वमा प्रश्न उठ्न सक्छ । धङधङेलाई सोचेरै टोलाउने भन्दा पनि विगतलाई इतिहासका पत्तामा सम्मान गर्दै आगतका जटिलता र भावी दिनका सुनौलो सपनामा रमाउनु परिवर्तनकारी विचार बन्ला नै । विगतबाट पाठ सिकेर अनुभवलाई मनन गर्दै आगतलाई उदाहरणीय बनाउनु बुद्धिमानी हुने परिवर्तनशीलता बोध हुन्छ । दुई–चार दिन मिलेजस्तो गर्ने, केही समयमै बटारिने, धमिलो मन लिएर सहमति जनाएजस्तो गर्ने, या त हिजो बोलिहालियो भनेर बाध्यताले बाँधेका कारण एक बन्नैपर्ने भयो भन्ने हो भने त्यसमा पनि घातक बन्न सक्ने तुष रहिरहन सक्छ ।

स्पष्टता र सोच
आजस्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभासम्मको चुनावी वर्षमा जनता सामु राखिएका सर्तसँग तालमेल मिलाउन ढिलो भइसकेको छ । मुलुकको लामो राजनीतिक अस्थिरता र सङ्क्रमणमा बितेका तीता विगतलाई सम्झिरहँदा जनतामा नेपालको संघीय संरचनाको अभ्यासमै नैरास्यता उत्पन्न नभएको पनि होइन । त्यो हिजोको उत्साहमा ह्रास आइरहँदा नेताजी आपूmले घरदैलोमा गएर गर्नुभएको हिजोको वाचा भुल्दै गएको र उही कर्मकाण्डे सरुवा रोगले उसैगरी महामारी चलाएको प्रतीत हुन्छ । यसर्थ अब त दुई पार्टीको वामपन्थी एकता केवल दुई पाटीको ध्रुवीकरण होइन, यो देशको विकासको इतिहास कोर्ने दर्बिलो आधार हो भन्ने पुष्टि हुन सक्नुपर्छ । एकताको सवालले नेपालको राजनीतिक इतिहासमा एउटा नवीन र उदाहरणीय मर्मलाई बोकोस् । तब त पक्कै पनि नेपालमा भावी राजनीतिमा पनि सफल राजनीतिको उदाहरणलाई पेस गर्ने आशा गर्न सकिन्छ ।
दुई ठूला वामपन्थी पार्टी नै एक भई अर्कातिर दोस्रो ठूलो पार्टी नेपाली कांग्रेस प्रतिपक्षीमा बस्दा देशमा विकासकै विषयमा प्रतिस्पर्धा भइरहे, कमजोरीलाई खै गरिइरहे आपसमा कमसेकम प्रतिस्पर्धात्मक डर बसिरहन्छ । यसबाट न्यायिक संयोजनमा असर नपर्ने आशा जाग्छ । यसका लागि त विकास–निर्माणलाई नै प्रतिस्पर्धाको केन्द्रमा राखेर जनताको मन जित्ने होड चल्नुपर्छ । तर, विकासको साटो यहाँ विनाशको सोचले कूटनीतिगत प्रतिस्पर्धा भइरहँदा सोझा जनतालाई सास्ती हुँदो रहेछ । विकासका सुकार्यमा बाधा उत्पन्न हुँदो रहेछ । नातावाद कृपावादी कुपरम्पराका कारण सक्षम र जोसिला जनशक्ति केवल हजुराइँमा समय व्यतित गर्न पुग्दा रहेछन् । शिशु अवस्थामा विकसित बन्दै गरेको नेपालको संघीय लोकतान्त्रिक व्यवस्थामा उही राणाकालीन चाकडीबाजले घुम्टो खोल्नै सकेको छैन । यसर्थ पनि नवीनतम् विकासमा युवा नेतृत्वले अवसर र अधिकार पाउने कुनै आधार तय भएकै छैन ।

अबको आशा
योएकताका बारेमा निर्णयात्मक छलफल गर्ने विषयले राष्ट्रिय चासोसँग सम्बन्ध गाँस्न पुगेको छ । आज अवसरको प्रतीक्षा गरिरहेका हरेक शक्तिलाई वैज्ञानिक सम्बोधन गर्नुपर्ने, चित्त बुझाउनुपर्ने विषयदेखि विकासवादी कुटनीतिमा वर्तमान सरकार चनाखो बन्नुपर्छ । जनताले चिया चौतारीमा समेत बोली र काम गराइमा तालमेल हुन नसकेको गुनासो सुनिन थालेको छ । आरोप–प्रत्यारोपको स्थितिलाई प्राथमिकतामा राखेर उक्साउने, उक्सिने विचारसँग एकतापश्चात् तुस र विकासमा गत्यारोधले मलजल पाउनु हुन्न । विकासमा होमिनुपर्ने सरकारको अमूल्य समय खेर जान सक्ने अबको विषयमा सरकार सचेत बन्नैपर्छ । अब एकता, समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका विषयलाई केन्द्रमा राखेर चुनावी घोषणापत्रलाई न्यायपूर्ण कार्यान्वयन तर्फ लम्किए मात्रै यो सरकारले जस पाउनेछ । समाज परिवर्तन र युवा स्वरोजगारमा गुणात्मक परिवर्तन गर्दै विकासको महायज्ञमा एकजुट हुने बेलामा गुट या त फुट, टुट र लुटको व्यवहार पक्कै घातक बन्छ । तसर्थ इतिहासमै बलियो कम्युनिस्ट पार्टीको उदाहरण बनेको यो एकताले अब संघीय शासन विकास र विस्तारको उदाहरणीय इतिहास पनि बन्न सक्नुपर्छ । भावी पुस्ताले पनि यी विषयलाई पक्कै आदरपूर्वक प्रयोग गर्नेछन् भन्न सकिन्छ ।
अब परिवर्तनका नाममा हुने उस्तै र उही अल्झन, बहाना, स्वार्थलगायत यो कम्युनिस्ट एकताले भागबन्डे स्वार्थी सोचलाई हटाउन सक्नुपर्छ । सर्वसाधारणको जनजीविकामा परिवर्तन गर्न महँगी र युवा पलायनसँग व्यावहारिक परिवर्तन हुनुमै सबै गुनासा जोडिन पुग्छन् । यहाँ महाभारतको कथामा कौरव र पाण्डवको युद्ध हुन लाग्दा कृष्णको शान्ति प्रस्ताव अस्वीकृत गर्ने कौरवका कारणले विशाल नरसंहार भयो । अर्थात् रामायणका कथामाझैँ शान्तिको प्रस्ताव बोकेर जाने अङ्गदको अपमान गर्ने रावणको सोचका कारण जटिलता जन्मिन पुग्यो । अन्त्यमा घमन्ड, असत्य र हिंसात्मकताले रगतको खोलो बग्न पुग्यो । वास्तवमा हरेक अवसरले जनताको रक्षाको भविष्य बोक्दा रहेछन् तर अस्वीकारको सोचले बिना झिनो कारणले नरसंहार मच्चिँदो रहेछ । नेपालको इतिहासमा कम्न्युस्ट शासनले नेतृत्व सम्हाल्ने सुअवसर पाएको छ । हिजो घोषणापत्रमा कबुल गरेका वचनलाई चटक्कै बिर्सेर स्वार्थभित्र अल्झन झांगिादै गएमा देशमा राजनीतिगत क्षति बढ्छ । जनतामा विश्वासघात हुन्छ । हिजोका प्रतिबद्धता, चुनावी प्राप्तिसँग जोडिएको जनताको आशामा शङ्का र चासोको घुलन छ । राजनीतिक मोडले विकासको महायज्ञमा होमिने अमूल्य समयलाई त्यसै झुलाइरहेको भान भइरहेकै छ । प्रतिपक्षी पनि त कमजोर होइन नि, बरु विकासमै दोहोरी होस् न । अब जुँगाको लडाइँ गर्ने पुरानो रोगलाई छोडेर, सोचमा मेरो गोरुको बाह्रै टक्का होइन, भागबन्डे कर्मकाण्डीय पद्धतिको नेतृत्वगत सङ्कुचन होइन, सक्षम, क्षमतावान्ले देशमा अवसर पाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्