हनुमानढोका दरबार परिसर पुनर्निर्माणको काम तीव्र «

हनुमानढोका दरबार परिसर पुनर्निर्माणको काम तीव्र

विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसर पुनर्निर्माणले तीव्रता पाएको छ । वि.सं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको हनुमानढोका दरबार परिसरको पुनःनिर्माणको कामले तीव्रता पाएको हो । दरबार परिसरभित्र रहेको नौतले दरबार, गद्धी बैठक, स्वेत भैरव, तलेजु भगवती, आगंमछे (नयाँ देवता राख्ने स्थान), माजुदेग, कृष्णमन्दिर, जगन्नाथ, गोपीकृष्ण मन्दिरलगायतका सम्पदा निर्माणको काम भइरहेको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका संग्रहालय अधिकृत जयनारायण कार्की स्वदेशी तथा विदेशी सहयोगमा परिसरभित्रको सम्पदा निर्माणको काम भइरहेको बताउँछन् । “संग्रहालय अवलोकन कार्य बन्द गरेर परिसरभित्रका सम्पदा निर्माणको कामलाई तीव्रता दिएका छौँ,” उनले भने । यीमध्ये नौतले दरबार चीन, गद्धी बैठक अमेरिका, आगंमछे जापान तथा जगन्नाथ र गोपीकृष्ण मन्दिर युनेस्कोको सहयोगमा निर्माण भइरहेको छ । यसैगरी, काठमाडौँ उपत्यका संरक्षण कोषको सहयोगमा शिवालय र लक्ष्मीनारायण मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको छ ।
यस्तै, पुरातत्व विभागको सहयोगमा यहाँ रहेका स्वेत भैरव, तलेजु भवानीको छाना, त्रैलोक्यमोहन, माजुदेग मन्दिर निर्माण भइसकेको र कृष्ण मन्दिर, कागेश्वरी र सरस्वती मन्दिर निर्माण कार्य भइरहेको छ । अड्डाका अधिकृत कार्की संग्रहालयलगायत अन्य सम्पदाको निर्माणका लागि पनि विदेशबाट सहयोग आउनेक्रम जारी रहेको बताउँछन् । दरबार परिसरमा छिर्न चाहने विदेशी र सार्क मुलुकका पर्यटकलाई काठमाडौँ महानगरपालिकाले क्रमशः एक हजार र २५० लिँदै आएको छ भने नेपालीका लागि अड्डाले ३० लिँदै आएको छ । अड्डाले भूकम्पपछि दरबारको बाहिरी भाग हेर्न जान चाहने नेपालीलाई ३० को टिकट दिएर परिसरको अवलोकन गर्न दिएको छ ।

 स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह सुरु

 सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ । उक्त ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह पनि थालिएको छ ।त्यस अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गरेकामा एडिबीप्रति आभार व्यक्त गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीन एवं नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान हुने बताए । यहाँस्थित एडिबीका अनुसार बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले स्वच्छ, विश्वसनीय र खर्च गर्न सकिने स्वच्छ ऊर्जामा गाउँका जनताको पहुँच वृद्धि भएपछि स्थानीय आय वृद्धिका साथै बाह्य विश्वसँग उनीहरूको सम्पर्क स्थापना हुने बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले स्वच्छ ऊर्जाको उपयोगले ग्रामीण भेगमा आर्थिक गतिविधिमा बढोत्तरी हुने विश्वास व्यक्त गरे ।
एसियाली विकास बैंक (एडीबी)को दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गतको ऊर्जा प्रणाली विस्तार परियोजनामा एडीबीका साथै नेपाल सरकारले लगानी गरेको थियो । सूर्य र हावाबाट बिजुली उत्पादन गर्न उक्त परियोजनामा करिब एक अर्ब ६२ करोड लगानी भएको थियो । उक्त परियोजनाबाट दैनिक ११० किलोवाट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली ८३ घरमा आपूर्ति भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्