माननीय थाहा छैन, चौधरी मोस्ट वान्टेड अपराधी : प्रहरी

प्रहरी प्रधान कार्यालयले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशम चौधरी व्यक्ति हत्या अभियोगमा फरार अपराधी भन्दै उनलाई पक्राउ गर्न कुनै कसर बाँकी नराखिने स्पष्ट पारेको छ । राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी सांसदको रूपमा सार्वजनिक हुनसक्ने आशंकामा उनलाई पक्राउ गर्न प्रहरीले थप चासो दिएको हो ।
चौधरीले ३४ हजार ३ सय ४१ मतसहित एमालेकी उम्मेदवार गरिमा शाहलाई पराजित गरेका थिए । एमाले उम्मेदवार शाहले चौधरी भन्दा झन्डै २ तिहाई मत कम अर्थात् १३ हजार ६ सय ४ मत ल्याएकी थिइन् । चौधरी वारेसनामामार्फत उम्मेदवारी दिएका थिए ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ६ प्रहरी, २ सशस्त्र प्रहरी र एक अवोध बालकको हत्या अभियोगमा चौधरीमाथि किटानी जाहेरी छ ।
सरकारद्वारा गठित छानबिन समितिले समेत टिकापुर हत्याकाण्डका योजनाकार रेशम र धनीराम चौधरीलाई बनाएको थियो । “उक्त दिन ज्यान मार्ने योजना बनाउने, ज्यान मार्न आदेश-निर्देशन दिने प्रतिवादी धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण थारु (चौधरी), रामचन्द्र चौधरीसमेतलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने अनुसन्धान तथा छानविन समितिको ठहरसाथ यो प्रतिवेदन पेश गरेका छौं,” सरकारले गठन गरेको अनुसन्धान समितिले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए–नभएकोबारे आफूहरुलाई कुनै चासो नभएकोले उनीविरुद्ध व्यक्ति हत्या अभियोगमा अदालतमा मुद्दा विचाराधीन रहेको बताए । चौधरी ९ जनाको हत्या अभियोगमा फरार रहेका ‘मोस्ट वान्टेड’अपराधी भएकोले प्रहरीले उनीमाथि त्यही अनुसार व्यवहार गर्ने प्रहरी प्रवक्ता न्यौपानेले स्पष्ट पारे । “प्रहरीको रेकर्डमा उनी मोस्ट वान्टेट अपराधी हुन्,” न्यौपानेले भने, “अदालतले समेत हत्या अभियोगमा उनलाई पक्राउ गरी उपस्थित गराउन यसअघि नै निर्देशन दिइसकेको छ ।”
कैलाली जिल्ला प्रहरी प्रमुख एसपी विनोद शर्माका अनुसार चौधरीसहित ३३ जना टिकापुर हत्या अभियोगमा फरार छन् । हत्या अभियोगमा पक्राउ परेका २५ जना कैलाली जिल्ला अदालतकै आदेशले पुर्पक्षका क्रममा कारागारमा छन् ।
“टिकापुर हत्याकाण्डमा संलग्नमध्ये २५ जना पुर्पक्षका क्रममा र रेशम चौधरी सहित ३३ जना फरार छन्,” एसपी शर्माले भने, “फरार अभियुक्तको खोजी कार्य अझै जारी छ । फरार रहेका अधिकंश अभियुक्त भारतमा लुकेर बसेकोले पक्राउ गर्न कठिनाइ भएको शर्माले बताए । यद्यपि सरकारले टिकापुर हत्याकाडसहित मधेस आन्दोलनका क्रममा पक्राउ परेका १ सय २४ भन्दा बढी वरुद्ध लगाइएका मुद्दा फिर्ता लिइसकेको छ ।