नारायणी–कोसी–गंगा नदी हुँदै बंगलादेशसम्म जल यातायात «

नारायणी–कोसी–गंगा नदी हुँदै बंगलादेशसम्म जल यातायात

वार्तामा नेपाली तथा भारतीय पक्षबाट जल यातायातसम्बन्धी काम कारबाही अगाडि बढाउन दुवै पक्षबाट आ–आफ्नो तर्फको प्राविधिक टोली गठन गरी यथाशीघ्र अघि बढाउन सहमत भएका छन् ।

नेपालमा जल यातायात नारायणी र कोसीमार्फत गंगा नदीबाट भारतको हल्दिया हुँदै बंगलादेश र अन्य मुलुकसँग जोडिने प्रचुर सम्भावना रहेकोमा नेपाल र भारतीय अधिकारीहरू सहमत भएका छन् ।
आइतबार र सोमबार जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेल्वासे र भारतीय अन्तर्देशीय जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रवीर पाण्डे नेतृत्वको टोलीबीच काठमाडौँमा भएको छलफलमा दुवै पक्ष सहमत भएका हुन् । नेपालको नारायणी र कोसीमार्फत गंगा नदी हुँदै बंगलादेशसम्म जल यातायात पुराउन सकिने र यसबाट उल्लेखनीय आर्थिक विकासमा सहयोग पुग्ने कुरामा दुवै पक्ष सहमत देखिएको ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेल्वासेले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा दुई देशबीचको जल यातायातको सम्भावना रहेको उल्लेख भएकोमा यसबारे थप छलफल गर्नका लागि भारतीय टोली नेपाल आएको थियो । छलफलमा जल यातायातका विभिन्न आयाम तथा सम्भावनाको सम्बन्धमा छलफल भएको थियो । छलफलको क्रममा नेपाली टोलीको तर्फबाट नेपालमा जल यातायातको सम्भावना र हालसम्मका गतिविधि सम्बन्धमा प्रस्तुति गरिएको थियो भने भारतीय पक्षले जलमार्ग सम्बन्धमा विशेषगरी जलमार्ग विकास परिमार्जनअन्तर्गतको कलकताबाट वाराणासीसम्मको १४ सय किलोमिटर लम्बाइमा भइरहेको जल यातायातसम्बन्धी गतिविधि तथा नेपालका नारायणी तथा कोसी नदीमा जल यातायातको सम्भावना तथा गतिविधि सम्बन्धी गरेको थियो ।
वार्तामा नेपाली तथा भारतीय पक्षबाट यससम्बन्धी काम कारबाही तुरुन्त अगाडि बढाउन दुवै पक्षबाट आ–आफ्नो तर्फको प्राविधिक टोली गठन गरी यथाशीघ्र अघि बढाउने गरी अघि बढ्न सहमत भएका छन् । छलफलमा दुवै पक्षलाई सुविधा हुने समय छनोट गरी नेपाली प्राविधिक टोलीबाट भारतको गंगा नदीको हाल निर्माणाधीन कोलकता हल्दियास्थित वाराणसी जलमार्ग खण्डको अध्ययन भ्रमण गर्ने तथा यससम्बन्धी थप अनुभव हासिल गर्ने तथा भारतीय पक्षको विशेषज्ञ सम्मिलित प्राविधिक टोलीबाट नेपालतर्फ कोसी तथा नारायणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरी दुवै पक्षबीच छलफल गर्ने सहमति भएको सहसचिव बेल्वासेले जानकारी दिए । उनका अनुसार दुवै टोलीको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा दुवैपक्ष बीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ ।
नेपाल तथा भारतबीच जल यातायात विकासको विधि र मोडालिटिका साथै भारतीय पक्षबाट नेपाललाई आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक पर्ने सहयोग गर्न सकिने लगायतमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्