महिलालाई सहकारीको नेतृत्वमा अवसर दिन सुझाव «

महिलालाई सहकारीको नेतृत्वमा अवसर दिन सुझाव

सहकारीमा महिलाको सहभागिता पुरुषको भन्दा बढी भए पनि नेतृत्वमा भने अवसर नपाएको गुनासो सहकारीकर्मीहरुले गरेका छन् । काठमाडौंमा मंगलबार भएको सहकारी व्यवसायमा महिलाको भूमिका गोष्ठीका सहभागीहरुले सहकारीमा महिलाको उत्साहलाई बढाउन नेतृत्वमा पनि पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याए ।
अन्तर्राष्ट्रिय सहकारी महासंघकी सञ्चालक तथा राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले प्रारम्भिक सहकारीमा महिलाको उत्साहजनक सहभागिता रहे पनि नेतृत्वमा पुग्न गाह्रो रहेको बताइन् । “सहकारीको नेतृत्वमा महिलाको सहभागिता बढाएर विश्वलाई नेपालले उदाहरण देखाउनुपर्छ,” उनले भनिन् ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रीय निर्देशक बालु ऐयरले नेपालको सहकारीले महिला शसक्तीकरणमा ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गरे ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपालको सहकारी क्षेत्रमा ५१ प्रतिशत महिलाको सहभागिता रहेको बताए । उनले नेपालको संविधान २०७२ ले सम्पूर्ण क्षेत्रमा ३३ प्रतिशत सहभातिा सुनिश्चित गरेको र नीति निर्माण तहमा अझै महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव रघुराम विष्टले कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा महिलाको उपस्थिति उल्लेख्य भए पनि नेतृत्व तहमा पुग्न नसकेको बताए । नयाँ सहकारी ऐनमा महिला सदस्यको आधारमा नेतृत्वमा आरक्षणको व्यवस्था गरिएको उनले जानकारी दिए । उनले वर्तमान अवस्था र दिगो विकास लक्ष्यको पाँचौं लक्ष्य प्राप्तिका लागि आगामी योजनाको विषयमा चर्चा गरेका थिए । यसैगरी जीआइजेडका प्राविधिक सल्लाहकार रोशन श्रेष्ठले नेपालमा सहकारीलाई व्यवसायीकरण गर्न र महिलालाई नीति निर्माण तहमा पुर्याउनका लागि भूमिका खेलिरहेको बताए ।
कार्यक्रममा भुटानकी चित्रा मायाकामी, माल्दिभ्सकी जुल्फा आदम, राष्ट्रिय सहकारी महासंघकी नायव महाप्रबन्धक चित्राकुमारी सुब्बा, राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराईलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठीमा देशभरबाट ५ दजर्न महिला सहकारीकर्मी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्