डा. केसीको माग सम्बोधनका लागि कांग्रेसद्वारा ध्यानाकर्षण «

डा. केसीको माग सम्बोधनका लागि कांग्रेसद्वारा ध्यानाकर्षण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर केसीको माग र जीवनरक्षाका लागि अपिल गरेका प्रमुख प्रतिपक्षी दलका नेता देउवाले मंगलबार भने प्रधानमन्त्री ओलीलाई भेटेरै त्यसबारे ध्यानाकर्षण गराएका हुन् ।
डा. केसीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको भन्दै उनले केसी पक्षधरसँग तत्कालै वार्ता गरी माग पूरा गरेर उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् । भेटमा देउवाले आफू नेतृत्वको कांग्रेस सरकारले डा. केसीको मागअनुसार डा. केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनाएको र कार्यदलले जनभावनाअनुरुप चिकित्सा शिक्षा अध्यादेश ल्याएकोले हुबहु प्रतिस्थापन विधेयकको रुपमा ल्याउन आग्रह गरे ।
माथेमा आयोगको सुझाव र जनभावनाअनुसार ल्याइएको अध्यादेशका प्रावधानहरु हटाएर विधेयक ल्याए सरकारले कांग्रेसको विरोधको सामना गर्नुपर्ने उनले बताए ।
“डा. गोविन्द केसीले स्वास्थ्य शिक्षाका विषयमा उठाएका मागहरु जनताको हितमा भएको निक्र्योलमा पुगेर मैले नै डा. केसीको मागअनुसार राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गरेको हुँ,” सभापति देउवाले भेटपछि भने, “उहाँको मागले चिकित्सा शिक्षाको गुणस्तर वृद्धिका साथै सहर केन्द्रीत र बढी व्यापारिक हुनबाट बचाएर जनमुखि चिकित्सा शिक्षाको विकास हुन्छ भन्ने मेरो मान्यता छ । म सरकारमा सहभागी दलहरुलाई अघिल्लो सरकारले जारी गरेको अध्यादेश हुबहु संसद्मा प्रतिस्थापन विधेयकको रुपमा पेश गरेर लाखौँ जनताको स्वास्थ्यसँग जोडिएको डा. केसीको स्वास्थ्य बचाएर अनशन तोडाउन माग गर्दछु ।”
कांग्रेसको असार २० गते बसेको केन्द्रीय समिति बैठकले डा. केसीको मागमा ऐक्यवद्धता जनाउँदै उनको स्वास्थ्य अवस्था बुझ्न ३ सांसद जुम्ला पठाएको थियो ।

केसीको जीवनरक्षाको माग गर्दै नेविसंघको प्रदर्शन
यता, नेपाल विद्यार्थी संघले डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेवि संघले माथेमा प्रतिवेदन लागू गरेर डा. केसीले राखेको माग पूरा गर्न माग गर्दै मंगलबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म -यालीसमेत निकालेको छ । नेवि संघका अध्यक्ष नैनसिंह महरले सरकारले नागरिकको अधिकार खोसेकाले त्यसको विरुद्धमा नेवि संघले विरोध प्रदर्शन गरेको बताए ।
नेवि संघले विभिन्न माग राखेर बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि नेवि संघका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा परी १० भन्दा बढी नेता तथा कार्यकर्ता घाइतेसमेत भएका छन् ।
यसैबीच नयाँ शक्ति नेपालले समेत विभिन्न माग राखी माइतीघरमा विरोध प्रदर्शन गरेको छ । वैशाख १ बाट आर्थिक वर्षको शुरुआत गरिनुपर्ने, असारे विकास बन्द गरिनुपर्ने, निषेधाज्ञा खारेज गर्नुपर्ने, सम्पदा र संस्कृति जोगाउनुपर्ने, मौलिक अधिकारको सुनिश्चितता गर्नुपर्नेलगायत माग राखेर विरोध प्रदर्शन गरेको हो ।
कार्यक्रममा नयाँ शक्ति नेपालकी नेत्री हिसीला यमीले सरकार महँगी र भ्रष्टाचारमा लागेको आरोप लगाइन् । सरकारले दुईतिहाइको आडमा शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गर्न खोजेको उनको भनाइ थियो ।

सरकारविरुद्ध विरोध कार्यक्रम घोषणा
नेपाली कांग्रेसले सरकार अधिनायकवादी एवं जनविरोधी क्रियाकलापमा लागेको भन्दै निन्दा र भत्र्सना गर्दै
त्यसका विरुद्ध विरोध प्रदर्शनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ । उपसभापति विमलेन्द्र निधिको
अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय
पदाधिकारीहरुको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी
दिए ।साउन ३ गते प्रजातन्त्रवादी प्राध्यपक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा अपरान्ह १ बजे
माइतिघर मण्डलाबाट विरोध प्रदर्शन गर्ने तय भएको छ । त्यस्तै, साउन ५ गते नेपाल तरुण दलको अगुवाइमा
अपरान्ह १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन र साउन ८ गते कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँ,
ललितपुर र भक्तपुरको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गर्ने तय भएको पौडेलले
बताए ।बैठकमा कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय
सदस्यहरु सुरेन्द्रराज पाण्डे, मीन विश्वकर्मा, रामकृष्ण यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, लक्ष्मी परियार
लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्