ट्यांकरको गुणस्तर परीक्षण अर्काे सातादेखि «

ट्यांकरको गुणस्तर परीक्षण अर्काे सातादेखि

मुलुकमै इन्धन बोक्ने ट्यांकरको क्यालिब्रेसन (गुणस्तर परीक्षण) अर्काे सातादेखि गरिने भएको छ । गुणस्तर परीक्षण गर्नका लागि अत्याधुनिक सुविधासहितको क्यालिब्रेसन युनिट तयार भइसकेकाले अर्काे सातापछि सञ्चालनमा आउने भएको हो ।
पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट इन्धन चुहावट हुने क्रम बढेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले हेटौंडामा क्यालिब्रेसन गर्ने भौतिक पूर्वाधारसहितको युनिट तयार गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ट्यांकरको क्यालिब्रेसन गर्नका लागि अत्यधुनिक पूर्वाधारसहितको युनिट तयार भएकाले अर्काे सातादेखि काम सुरु गरिने जानकारी दिए । दैनिक १५ देखि २० वटा ट्यांकरको गुणस्तर परीक्षण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । “यसको लागि डेढ लाख लिटर पानीको स्टोरेज टयांकी आवश्यक पर्छ,” उनले भने, “हाल २० हजार लिटर पानी स्टोरेज रहेकाले पनि पूर्णरूपमा सञ्चालन आउन केही समय लाग्ने छ ।” पूर्ण रूपमा काम सञ्चालन गर्नका लागि डेढ लाख लिटर पानी भन्डारण गर्ने टयांकी निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
अत्याधुनिक प्रविधिसहितको सुविधा नेपालमा नहुँदा नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)ले गर्ने क्यालिब्रेसनलाई मान्यता दिँदै आएको छ । भारतले गर्ने क्यालिब्रेसनका कारण समय–समयमा कम परिमाणमा इन्धन हुने समस्या आउने गरेको छ । भारतमा सञ्चालन हुने ट्यांकरमा भारत र नेपालमा सञ्चालन हुने ट्यांकर निगमका डिपोमार्फत क्यालिब्रेसन गरिँदै आएको छ । नेपालमै गुणस्तर परीक्षण गरिने भएपछि ट्यांकरबाट हुने चुहावट नियन्त्रण हुने विभागको भनाइ छ । ५० लाख खर्च गरेर विभागले भौतिक पूर्वाधार निर्माण गरेको छ । पूर्ण रूपमा काम सम्पन्न गर्नका लागि एक करोड रुपैयाँ लाग्ने विभागको भनाइ छ ।
नेपालमा हालसम्म यो क्षमताको अत्याधुनिक सुविधासहितको क्यालिब्रेसन युनिट छैन । “यो युनिटको सहयोगमा इन्धन ट्यांकरको क्यालिब्रेसन गर्नुका साथै फ्लो मिटर र वाटर मिटरको पनि परीक्षण गर्न अब नेपालमै सम्भव हुन्छ,” महानिर्देशक पुडासैनीले भने, “मुलुकमै परीक्षण हुन थालेपछि व्यवसायीले गर्ने बदमासी कम हुनेछ ।”
ट्यांकरमा क्यालिब्रेसन गर्न वीरगन्ज र केन्द्रीय कार्यालयबाट प्राविधिक पठाइने विभागले जानकारी दिएको छ । नेपालका आयल निगमका प्रवक्ता वीरेन्द गोइतले नेपालमा क्यालिब्रेसन गर्नु अति राम्रो भएको बताए । यसले गर्दा इन्धनको तौलमा हुने कमीको समस्या स्वतः नियन्त्रण हुँदै जाने उनको भनाइ छ । इन्धन बोक्ने ट्यांकरको प्रत्येक वर्ष क्यालिब्रेसन गर्ने व्यवस्था भए पनि नेपालमा भने कडाइका साथ कार्यान्वयनमा नल्याइँदा इन्धन बिक्रेतासमेत समय समयमा ठगिँदै आएका छन् ।
विभागका अनुसार अहिले नेपालमा ट्यांकरको क्यालिबे्रसन नगण्य मात्रामा हुँदै आएको छ । यो युनिट सञ्चालनमा आएपछि खाली ट्यांकरका साथै भारतबाट इन्धन बोकेर आउने ट्यांकरको समेत क्यालिब्रेसन गरिनेछ । निगमसँग अनुमति लिएर हाल १ हजार ५ सय ट्यांकर सञ्चालनमा छन् । ट्यांकर सञ्चालकले बर्सेनि ५ हजार रुपैयाँ तिरेर अनिवार्य रूपमा एकपटक क्यालिबे्रसन गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याउन लागिएको विभागले जनाएको छ । निगम स्रोतका अनुसार आईओसीको क्यालिब्रेसनका आधारमा इन्धन ल्याउँदा हरेक ट्यांकरमा २० देखि ४७ लिटर कम परिमाणमा इन्धन भेटिने गरेको पाइएको छ । आईओसीले नेपाली क्यालिब्रेसनलाई नमान्दा उसले दिएको परिमाणलाई नै मान्नुपर्ने बाध्यता रहेको निगमको भनाइ छ ।
निगमले आफूखुसी भारतीय क्यालिब्रेसनलाई मान्यता दिएर तोकिएको परिमाणभन्दा बढी तेल नोक्सानी देखाउने गरेको कर्मचारीको भनाइ छ । इन्धन चुहावटलाई नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आपूर्ति मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रका प्रतिनिधि सम्मिलित एक समितिले करिब दुई वर्षअघि गुणस्तर तथा नापतौल विभागबाट ट्यांकरको क्यालिब्रेसन गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्