कार किन्ने उपयुक्त महिना डिसेम्बर

भारतको आन्तरिक बजारमा कार खरिदकर्ताहरूका लागि डिसेम्बर महिना उपयुक्त समय रहेको देखिन्छ । डिसेम्बरका लागि उपयुक्त समय भनिनुका पछाडि दुईवटा कारण रहेका छन् । पहिलो, जनावरीदेखि सबैजसो सवारी उत्पादक कम्पनीहरूले मूल्य वृद्धिको घोषणा गरेको र दोस्रो कारण हो सवारी कम्पनीहरूले डिसेम्बरमा छुट दिनु । डिसेम्बर महिनादेखि लागू हुने गरि विभिन्न कम्पनीहरूले विभिन्न मोडलमा ३५ हजारदेखि १ लाख भारुसम्म छुटको स्किम ल्याएका छन् । यो छुट गत वर्षको डिसेम्बरको तुलनामा १० देखि १५ प्रतिशत धेरै हो ।
नयाँ वर्षमा नयाँ मोडल आउने हुँदा सबैजसो सवारी उत्पादक कम्पनीहरूले स्टक क्लियरेन्सका लागि वर्षको अन्तिम महिनामा छुटमा सवारी उपलब्ध गराउने गरेका छन् । यो वर्ष भने धेरै छुट दिनुमा जीएसटीलगायत धेरै कारणहरू रहेका छन् । डिसेम्बरको पहिलो साता नै धेरै बिक्री गर्ने कार ब्रान्डहरू टाटा, फोर्ट, हुन्डाई, होन्डा, महिन्द्रा एन्ड महिन्द्रा तथा फक्सवागनले निःशुल्क, इन्स्योरेन्स, एक्सचेन्ज अफर, वास्तविक छुटमा पनि थप छुट उपलब्ध गराउने घोषणा गरेका हुन् । सस्तो तथा मध्यम कारमा मात्र होइन, विलाशी कारमा पछि छुटको घोषणा भएको छ । अडीले आफ्ना कारको खरिदमा ३ देखि ८ लाख भारुसम्म छुट दिने बताएको छ । सामान्य समयमै डिसेम्बर महिनामा सवारी उत्पादक कम्पनीहरूले भारी छुट दिने गरेका छन् । किनकि डिसेम्बर महिना कम कार बिक्री हुने समय हो । तर यो वर्ष जीएसटीका कारण धेरै रकम लागेको र यसले खरिदकर्ताको भावना समेत प्रभावित पारेको हो । सँगै जनवरीदेखि सवारीको मूल्य वृद्धिको घोषणा अधिकांश सवारी उत्पादकहरूले गरिसकेका छन् । टोयोटाले ३ प्रतिशत, महिन्द्रा एन्ड महिन्द्राले १.५ देखि ३ प्रतिशत, फोर्डले ४ प्रतिशत तथा होन्डाले १ देखि २ प्रतिशत मूल्य जनावरीदेखि लागू हुने गरि वृद्धि गरेका छन् । मर्सिडिज–वेन्ज इन्डिया तथा टाटा मोटर्स वृद्धि गर्नेबारे निर्णय गर्ने चरणमा रहेका छन् ।