डेढसय वर्षपछि सदरलाइन विस्तार «

डेढसय वर्षपछि सदरलाइन विस्तार

नेपालगन्ज-डेढ सय वर्ष अघिदेखि अतिक्रमणको चपेटामा परेर साँघुरिएको नेपालगन्जको सबैभन्दा पुरानो बजार सदरलाइनको सडक विस्तारबाट सो क्षेत्रको स्वरुप नै फेरिएको छ । केही समय पहिलेसम्म निकै साँघुरो देखिने सदरलाइन अहिले निकै फराकिलो मात्र होइन सफा र सुन्दरसमेत देखिन थालेको छ ।
त्रिवेणीमोडदेखि चारबाहिनीसम्म १४ देखि २१ मिटरसम्म ‘बर्साती’ पछाडिको पिलर नछुने गरी सडक विस्तार गरेर नयाँ सडक तथा नाला निर्माण गरिएपछि अहिले आएर सो सडकको मुहार फेरिएको हो । त्रिभुवन चोक उत्तरमा सदरलाइनमा नाला निर्माण गरी सडकसमेत कालोपत्रे भइसकेको छ । दक्षिण र पूर्वमा निर्माणाधीन छ । उपमहानगरपालिकाको सहरी विकास आयोजनाले एडीबीको सहयोगमा नगरभित्र १ अर्ब ६३ करोड लागतमा काम गरिरहेको इन्जिनियर शैलेन्द्र महर्जन बताउँछन् । उनले भने, “यही बजेटमा चारबाहिनीदेखि त्रिवेणी मोडसम्म सदरलाइन विस्तारको काम भइरहेको छ ।” “सदरलाइन व्यवस्थित हुँदा बाह्य पर्यटकले पनि बजारलाई एक चक्कर लगाएर जाने स्थिति बनेको छ,” सदरलाइन विस्तारमा मध्यस्तकर्ताको भूमिका खेलेको नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष नन्दलाल वैश्यको दाबी छ । स्थानीय जयपाली कनोजियाका बुझाइमा सदरलाइन विस्तारले बजारको बेग्लै रौनकता थपेको छ । सुरुमा पसल भत्काउन नमानेका उनी अहिले सो क्षेत्र हेरेर आफै दंग पर्ने गरेको बताउँछन् ।
डेढ सय वर्षअघि राणा प्रधानमन्त्री जंगबहादुरको निर्देशनमा लखनउको हजरतगन्ज सहरको शैलीमा ऐतिहासिक नेपालगन्ज सहर बसाइएको थियो । “सडकपेटी (बर्साती) सहितको बस्ती विकास गरिएको थियो । व्यापारीले पेटी अतिक्रमण गरेका थिए,” प्राज्ञ सनत रेग्मी भन्छन् । सडक पेटी डेढ सय वर्षभन्दा बढी समय अतिक्रमणमा पर्याे । सडक साँघुरो हुँदा पैदलयात्री र सवारीसाधन आवागमनमा समस्या हुन्थ्यो । सडकपेटीमै व्यापार व्यवसाय गर्नाले सदरलाइनको सौन्दर्यता हराएको थियो ।
२०४९ सालमा नेपालगन्ज नगरपालिकाको मेयर बनेका विजय गुप्ताले रानीतलाउ, न्यूरोड विकासको अवधारणा अघि सारेका थिए । २०५४ सालमा मेयर भएका धवल शमशेर राणाले विकासका आयोजना कार्यान्वयनको चरणमा पुराएको नेपालगन्ज सदरलाइनका अगुवा हाजी अनिस हलवाई बताउँछन् । उनले भने, “दुवै मेयरको कार्यकालमा पर्यटकलाई लोभ्याउने योजना गाँसिएका थिए,” हलवाई भन्छन्, “उपमहानगर नेतृत्वमा राणाकै पालामा विस्तारको काम भएकाले सदरलाइनको मुहार फेरिँदैछ ।”
अहिले सदरलाइन पुग्ने जो कोहीले पनि एक पटक सो क्षेत्रको प्रशंसा नगरेर रहन नसक्ने अवस्था छ । केही समयअघिसम्म नगरकै सबैभन्दा अस्तब्यस्त र साँघुरो देखिने सदरलाइन अहिले आएर सबैभन्दा फराकिलो तथा ब्यवस्थित र सुन्दर देखिन थालेको नेपालगन्जका मेयर राणा बताउँछन् । उनले यसका लागि आफूले महिनौ दिनरात एक गरेर काम गर्नु परेको सुनाउँछन् । यो कार्यलाई पूरा गर्न विशेष सहयोग गर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, संघीय इकाई प्रहरी कार्यालयका प्रमुखलगायतका अन्य सहयोगी तथा राजनीतिक दलका अगुवालाई जति स्मरण गरे पनि कम हुने मेयर राणा बताउँछन् ।
एडीबीको सहयोगले अहिले नेपालगन्जका अधिकांश सडक फराकिलो र चिल्लो भएका छन् । अझै धेरै सडकहरुको निर्माणकार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्