विद्युतीय कार टिगोर–ईभी ल्यायो टाटा मोटर्सले

भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले गुजरातस्थित सनन्द प्लान्टमार्फत टिगोर इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । टाटा मोटर्सको पहिलो विद्युतीय कार टिगोर ईभी भएको कम्पनीले जानकारी दिएको छ । यद्यपि सो कार हाल भारतीय सरकारद्वारा सञ्चालित इनर्जी इफिसियन्सी सर्भिसेज (ईईएसएल) लाई उपलब्ध गराइनेछ । विश्वभरका सवारी उत्पादक कम्पनीहरूले विद्युतीय सवारी उत्पादनलाई नै उच्च प्राथमिकता दिएको छन् ।
टाटा मोटर्सका अध्यक्ष एन चन्द्रशेखरन, टाटा ग्रुपका अध्यक्ष रतन टाटा र टाटा मोटर्स हेड गुएन्टर बुट्सचेकले एक कार्यक्रमका बीच फ्ल्याग अफ गरी टिगोर ईभी सार्वजनिक गरेका हुन् । टिगोर ईभीका लागि इलेक्ट्रा ईभीले इलेक्ट्रिक ड्राइभ सिस्टम विकास गरेको हो । इलेक्ट्रा ईभीले नै टाटाको अर्को विद्युतीय कार ‘नियो’का लागि ४८ भोल्टको इलेक्ट्रिक सिष्टम उपलब्ध गराएको छ । नियो टाटाको नानो कारको प्लेटफर्ममा उत्पादन हुने विद्युतीय कार हो ।
हाल टाटा मोटर्सले ईईएसएलका लागि मात्र टिगोर विद्युतीय कार उपलब्ध गराउने छ । मास मार्केटमा टिगोर ईभी आउन भने केही समय लाग्ने कम्पनीले जनाएको छ । टाटा मोटर्सले पहिलो चरणमा १० हजार कार र ५ सय अन्य गाडी उपलब्ध गराउने सम्झौता गरेको थियो । कम्पनीले ११ लाख २० हजारमा सो कार उपलब्ध गराउने गरी टेन्डर पाएको हो । पहिलो चरणमा कम्पनीले २ सय ५० टिगोर ईभी उपलब्ध गराउनेछ । त्यसपछि दोस्रो चरणमा १ सय र बाँकी १ सय ५० विद्युतीय कार भने महिन्द्राले उपलब्ध गराउने छ । महिन्द्राले पनि आफ्नो विद्युतीय कार ई–भेरिटो यसका लागि तयार भएको उल्लेख गरेको छ ।