स्थानीय तह निर्वाचनको प्रतिमतदाता खर्च ४९५ रुपैयाँ २५ पैसा

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदाता औसतमा ४९५ रुपैयाँ २५ पैसा खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । उक्त निर्वाचनमा ६ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८६६ खर्च भएको निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाले जनाएको छ ।
स्थानीय तहको निर्वाचन वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको थियो । सरकारले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगलाई ८ अर्ब ७८ करोड, ४९ लाख ७२ हजार १६८ उपलब्ध गराएकामा प्राप्त बजेटमध्ये ७९.३३ प्रतिशत खर्च भएको आयोगबाट उपलब्ध विवरणमा उल्लेख छ ।
आयोगका अनुसार पहिलो र दोस्रो चरणमा गरी जम्मा ६ अर्ब ३० करोड ३९ लाख ९ हजार ५३८ तथा तेस्रो चरणमा ९३ करोड ८९ लाख ७७ हजार ३२८ जम्मा खर्च भएको थियो ।
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता खर्च लागत ५२८ रुपैयाँ ६४ पैसा रहेको थियो भने तेस्रो चरणमा त्यो घटेर ३५२.३४ रहेको आयोगको तथ्यांकबाट जानकारी प्राप्त भएको छ ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एक करोड १४ लाख सात हजार ४७४ तथा तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाता संख्या कायम रहेको थियो ।