सेयरधनीको नक्कली हस्ताक्षर गर्नेलाई कारबाही गर्ने तयारी «

सेयरधनीको नक्कली हस्ताक्षर गर्नेलाई कारबाही गर्ने तयारी

नेपाल धितोपत्र बोर्डले कम्पनीहरूको वार्षिक साधारणसभामा नक्कली हस्ताक्षर गर्ने र नक्कली प्रोक्सी तयार गरी चुनाव प्रभावित पार्नेहरूमाथि कारबाही गर्ने भएको छ । मेगा बैंक तथा प्राइम कमर्सियल बैंकका साधारणसभामा सञ्चालक पदको निर्वाचनमा कीर्ते हस्ताक्षर गरी आफ्नो अनुकूल बनाउने गिरोहविरुद्ध छानबिन थालेको बोर्डले जनाएको छ ।
हालै सम्पन्न मेगा र प्राइम बैंकको साधारणसभामा सेयरधनीहरूको नक्कली हस्ताक्षर गरी प्रोक्सी दर्ता गरेको भन्दै उजुरी परेपछि कारबाही थालिएको बोर्डले जनाएको छ । एउटालाई प्रतिनिधि प्रोक्सी नियुक्त गरिदिएको आफ्नो निवेदनमा नक्कली हस्ताक्षर गरी अर्कैलाई दिएको भनी सेयरधनीका तर्फबाट लिखित उजुरी परेपछि प्राइम बैंकको सञ्चालक समितिले हालै एक छुट्टै निर्णय गरी आवश्यक कारबाही गर्न धितोपत्र बोर्ड तथा कम्पनी रजिष्टारको कार्यालयलाई अनुरोध गरेको थियो ।
धितोपत्र बोर्डका अनुसार प्रोक्सीमा सेयरधनीहरूको नक्कली हस्ताक्षर गरी आफ्नो समर्थनमा प्रयोग गरिएको भन्ने गुनासोसहितको बैंकको पत्र आएको र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ । एकजना रिक्त सञ्चालक पदका लागि गत पुसमा सम्पन्न बैंकको दशौं वार्षिक साधारणसभामा बासु रिजाल, असिम शर्मा, गजेन्द्र विष्टलगायत चार जनाको उम्मेद्वारी परेको थियो । विष्टलाई दिइएका २० लाखभन्दा बढी प्रोक्सीमा नक्कली हस्ताक्षर गरी अर्का उम्मेदवार रिजालको नाममा बनाई दर्ता गरिएको जनाइएको छ ।
बैंकले सेयर रजिष्टारको काम सिभिल क्यापिटल मार्केट्सलाई जिम्मा दिएको छ । जनताको निक्षेपको दायित्व लिएका बैंकहरूमा समेत नक्कली हस्ताक्षर हुन्छ भने पैसाको सुरक्षा र डिम्याट भैसकेका सेयरको सुरक्षा कसरी होला भन्ने चुनौती खडा भएको भन्दै बैंकले यस्तो विकृतिलाई रोक्न पुँजीबजारका नियामक निकायलाई गुहारेको बैंक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्