Logo

९ क्षेत्रको मतपरिणाम आउन बाँकी

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको जारी मतगणनाअनुसार अब ९ वटा क्षेत्रको मतपरिणाम आउन बाँकी छ । सोमबार बेलुकीसम्म १ सय ५६ प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भएको छ । जसमा एमाले र माओवादी केन्द्र रहेको बाम गठबन्धन धेरै स्थानमा विजयी भएको छ ।
एमाले ६६ र माओवादी केन्द्र ३४ गरी बाम गठबन्धनले एक सय स्थानमा जितिसकेको छ । नेपाली कांग्रेस २१ स्थानमा विजयी भएको छ । त्यसबाहेक मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले २० स्थान, नयाँ शक्ति, राप्रपा र स्वतन्त्रले १÷१ स्थानमा जितेका छन् । मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन भएका ९ स्थानको मतगणना भने जारी छ । जसमा सुनसरी– ३ ,धनुषा– १, सर्लाही– ४, स्याङ्जा– १, स्याङ्जा– २ अर्घाखाँची, कैलाली– १ , २ र ३ रहेका छन् ।
यीमध्ये ५ निर्वाचन क्षेत्रमा एमालेले अग्रता लिइरहेको छ । सुनसरी– ३, स्याङ्जा– १ ,कैलाली २,३ र स्याङ्जा २ मा एमालेको अग्रता छ । त्यस्तै, धनुषा– १ र अर्घाखाँचीमा माओवादीले अग्रता लिएको छ भने सर्लाही– ४ र कैलाली– १ मा राष्ट्रिय जनता पार्टीको अग्रता छ ।
त्यस्तै समानुपातिकतर्फ पनि मतगणना जारी छ, जसमा पनि एमालेले अग्रता लिइरहेको छ । सोमबार बेलुकीसम्म एमालेले ४ लाख ४६ हजार ३७ मत प्राप्त गरी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि अग्रता लिएको हो । नेपाली कांग्रेस ४ लाख २९ हजार ९१ मतका साथ दोस्रो स्थानमा छ । माओवादी केन्द्रले २ लाख ५ हजार ३ सय ९० मत पाएर तेस्रो स्थानमा छ । त्यस्तै चौथोमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र पाँचौंमा विवेकशील साझा पार्टी छन् । राजपा नेपालको २५ हजार ७ सय ४१ र विवेकशील साझाको २३ हजार २ सय ३६ मत छ । त्यसैगरी राप्रपाको २१ हजार ९ सय ९९, संघीय समाजवादी फोरमको १८ हजार ३ सय ४०, नयाँ शक्ति पार्टीको १८ हजार १ सय २४ राप्रपा प्रजातान्त्रिकको ९ हजार २ सय ६०, राष्ट्रिय जनमोर्चाको ७ हजार १ सय १८ मत रहेको छ । अन्य दलको २८ हजार २ सय १६ मत रहेको आयोगले जनाएको छ । प्रदेशसभा तर्फ भने मिश्रित मतपरिणाम छ । प्रदेश नम्बर १, ३ र ५ मा एमाले, ४ र ७ मा कांग्रेस र ६ मा माओवादी केन्द्रको अग्रता छ ।

 

प्रतिक्रिया दिनुहोस्