सिमिकोट र तातोपानी पूर्ण खोप गाउँपालिका घोषणा «

सिमिकोट र तातोपानी पूर्ण खोप गाउँपालिका घोषणा

जुम्ला- जुम्ला तातोपानी गाउँपालिका–२ की छायादेवी परियारले सुनौला हजार दिनको समय अवधिभित्र जन्माएको चार पटकसम्म आफ्नी छोरीलाई नियमित खोप लगाएको बताउँछिन् । कहिले काँही खोप लगाउने समय बिर्से पनि नजिकैकी स्वयंसेविका आएर खोप लगाउन सम्झाउने गरेको उनले बताइन् । कहिले स्वास्थ्य चौकी अनमी, स्वयंसेविका आएर पनि नियमित, खोप लगाउन भनिराख्थिन् ।
उनले भनिन्, टोलटोलमा आएर सुत्केरीलाई स्वास्थ्य चेकजाँच, नियमित खोप लगाउने बारे जानकारी दिइरहेका थिए । तर, त्यो सबै गतिविधि, पूर्ण खोप सुनिश्चत गाउँपालिका घोषणा पूर्व गरिने घरधुरी सर्वेक्षण गरिरहेको भन्ने थाहा नपाएको सुनाइन् । बुधबार तातोपानी गाउँपालिकालाई एक औपचारिक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । झण्डै ११ सय बालबालिका रहेको तातोपानी गाउँपालिकामा सबै बालबालिकलाई आवश्यक खोप लगाइएको स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले बताए । उनले भने, घोषणा गर्नु पहिले गाउँपालिका भरि हामीले घरधुरी सर्वे गर्दा सबै बालबालिकालाई पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै पूर्ण खोपयुक्त पालिका घोषण गरिएको बताए ।
जन्मेदेखि ५ वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएपछि घोषणा गरेका हौं । उनले थपे, अझै केहि बाँकी रहेको देखिएमा खोज र खोप कार्यक्रम अन्तरर्गत सबैलाई खोप दिइने दाबी गरे । घोषणाको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य संस्थाका कर्मचारीदेखि सबै स्वयंसेविकालाई परिचालन गरिने बताए ।

सिमिकोट पूर्ण खोप गाउँपालिका
हुम्लाको सिमिकोट गाउँपालिका पूर्ण खोप घोषणा गरिएको जुम्ला समाचारदाताले जनाएका छन् । हुम्ला जिल्लाका दुईवटा गाउँपालिका हालसम्म पूर्ण खोप गाउँपालिका घोषित भएका छन् । यसअघि खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप गाउँपालिकाको रूपमा घोषणा भइसकेका र अन्य गाउँपालिकामा पनि यसको तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख डा. रन्जितकुमार यादवले बताए । सिमिकोट गाउँपालिकामा एक जिल्ला अस्पताल, ४ वटा स्वास्थ्य केन्द्र र एक सामुदायिक स्वास्थ्य क्लिनिकमार्फत नियमित खोप सञ्चालन गरी पूर्ण खोप गाउँपालिका घोषणा गराउनका लागि सम्भव भएको हो । सिमिकोटमा रहेका जम्मा २७८ लक्षित बालबालिकामध्ये हाल २५९ बालबालिकाले नियमित खोप लगाइरहेको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्