जनता आवास कार्यक्रमको रकम दुरुपयोग «

जनता आवास कार्यक्रमको रकम दुरुपयोग

धनगढी- जनता आवास कार्यक्रमअन्तर्गतका लक्षित समुदायको रकम दुरुपयोग भएको छ । लक्षित समुदायहरू पहिलो, दोस्रो र तेस्रो किस्ता रकम बुझे पनि चौथो किस्तामा लालझाँडी घर निर्माण समिति कञ्चनपुरका अध्यक्ष तेजराज तिरुवाले लाखौं रुपैयाँ दुरुपयोग गरेका हुन् ।
जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कैलालीले लालझाँडी गाउँपालिका कञ्चनपुरका १४ घरधुरीलाई प्रतिव्यक्ति २ लाख १५ हजार २३९ रुपैयाँको दरले वितरण गरे पनि अध्यक्ष तिरुवाको मिलोमतोमा १ लाख ९१ हजार १०६ रुपैयाँ घोटाला भएको जनता आवासका लाभग्राहीे बताउँछन् । आवास लाभग्राहीका अध्यक्ष तिरुवाले नगद ७ लाख रुपैयाँ दुरुपयोग गरेको लाभग्राही बताउँछन् । लालझाँडी गाउँपालिका जनता आवास कार्यक्रमअन्र्तगत १४ घरधुरीमध्ये २ घरधुरीले चौथो किस्ता अर्थात् १ लाख ९१ हजार १ सय रुपैयाँ पाएका छैनन् । लालझाँडी घरनिर्माण समिति अध्यक्ष तेज तिरुवाले हस्तान्तरित ७ लाख रुपैयाँमध्ये केही रकम खर्च गरेको स्वीकारे ।
कार्यालयका इन्जिनियर दिनेशकुमार श्रेष्ठले जनता आवास कार्यक्रमअन्तर्गत आएको रकम लाभग्राहीलाई २५ गतेभित्रै वितरण गरिसकेको बताए । उनले भने, “कार्यालयबाट जनता आवासको रकममा कुनै पनि कमजोरी भएको छैन्, कमजोरी भए समितिबाट हुन सक्छ ।” रकममा तलमाथि भए अध्यक्ष अथवा समितिले बेहोर्न पर्नेे बताए । आव ०७४/७५ क्रमागत जनता आवास कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो किस्ता गरी ९ करोड रुपैयाँ वितरण गरिसकेको छ भने चौथो किस्ताको ३ करोड ५० लाख भुक्तानीसमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्