अर्थतन्त्रमा आशाको बाटो

नेपाल यति बेला रूपान्तरणको चरणमा छ । गत वर्ष जारी भएको नेपालको संविधानमा केही राजनीतिक असहमति सुनिए पनि यसले गरेको आर्थिक–सामाजिक संरचनागत रूपान्तरणका व्यवस्थाहरूप्रति सबैको सहमति देखिन्छ । यो नेपालको अर्थतन्त्रका लागि निश्चय नै आशाको बाटो हो । दलीय सहमति र स्थिरता कायम भयो भने हाम्रो अर्थतन्त्र समृद्धिको मार्गमा अग्रसर हुन लामो समय लाग्दैन ।
नेपालले २०४६ सालको परिवर्तनपछि अवलम्बन गर्दै आएको आर्थिक उदारीकरणको नीतिलाई नै मुलुककै पहिलो राष्ट्रिय आर्थिक दैनिक भएका कारण कारोबारले पनि आत्मसात् गर्दै आएको छ । खुला बजार अर्थनीतिमा केही समस्या हुन सक्छन्, तिनको समाधानका लागि संरचनागत तयारी हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहँदै आएको छ ।
नेपालको संविधानले अवलम्बन गरेको आर्थिक नीतिमा राज्यको लोक कल्याणकारी भूमिकासहितको सक्रिय निजी क्षेत्रको प्रवद्र्धनका पक्षमा कारोबार राष्ट्रिय आर्थिक दैनिकले स्थापनाको आठौं वर्षसम्म आइपुग्दा सबल रूपमा पैरवी गर्दै आएको छ । नेपालजस्तो अल्प विकसित मुलुकमा अझै राज्यको भूमिका अपेक्षित नै छ ।
राज्यले प्रवाह गर्ने हरेक लगानीले नागरिक कल्याणमा उल्लेख्य भूमिका निर्वाह गर्छ भन्ने विश्वव्यापी आर्थिक अनुभवले पनि देखाएको छ । विश्वव्यापी रूपमा देखापर्ने आर्थिक समस्याबाट नेपाल पनि अलग रहन सक्दैन । यस्ता संकट समाधानमा विकसित मुलुकहरूले चालेका कदम नेपालका लागि समेत पाठ हुन् ।
अर्थतन्त्र संकटमा पर्दा मात्र होइन, आर्थिक गतिविधि सुस्त भएका बेला पनि राज्यले पुनरुद्धारका कार्यक्रमहरू ल्याउनुपर्छ । यस मामिलामा नेपालका नीति–निर्माताहरू केही चुकेको अनुभूति हामीले गरेका छौं, जसको प्रत्यक्ष उदाहरण गत वर्षको भूकम्प र नाकाबन्दीपछि देखियो । ठूलो होहल्लाका साथ घोषणा गरिएको पुनर्निर्माण र पुनरुद्धार कोषको प्रभावकारिता शून्य देखिनु दुर्भाग्यपूर्ण छ । मुलुकको आर्थिक क्षेत्रको सरोकारवाला हुनुका नाताले आउँदा दिनहरूमा सरकार, नीति–निर्माता, निजी क्षेत्रसहित अर्थतन्त्रका सबै पक्षमाझ देशको आर्थिक प्रणालीको क्रियाशीलतामा सक्रियता देखाउनुपर्ने विषयमा हाम्रो पैरवी अझ सबल बनाउने प्रण गर्दछौं ।
मुलुकको अर्थतन्त्रलाई अब द्रूत विकासको मार्गमा लैजाने र राज्यले राखेको सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने मुख्य क्षेत्र नै देशको पूर्वाधार विकास हो । अन्तरराष्ट्रिय अनुभवले पनि यही कुरालाई पुष्टि गर्दछ । अन्तरराष्ट्रिय मापदण्डका सडक सञ्जाल, ठूल्ठूला विमानस्थल, बृहत् क्षमताका ऊर्जा परियोजनाजस्ता भौतिक पूर्वाधार विकासमा राज्य, निजी क्षेत्र र बाह्य लगानीकर्ताबीच त्रिपक्षीय साझेदारी वा सहभागिता प्रवद्र्धनको मूल मुद्दालाई कारोबारले प्राथमिकतामा राख्दै आएको छ ।
आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धनबिना उच्चस्तरको आर्थिक वृद्धिदर हासिल गर्न सकिँदैन । लगानी प्रवद्र्धनमा हालसम्म देशभित्र देखिँदै आएको नीतिगत अन्योल र राजनीतिक अस्थिरताको अन्त्य हुनुपर्छ भन्ने पक्षमा कारोबार दैनिकले आउँदा दिनहरूमा अझ सशक्त रूपमा पैरवी गर्दै जानेछ । विशेषतः देशले राज्यको पुनःसंरचनाअन्तर्गत अवलम्बन गर्न लागेको संघीयताअनुकूल विकास अभ्यासलाई अगाडि बढाई हरेक नेपालीको जनजीविकाको उत्थानका पक्षमा कारोबारले आफ्नो सक्रिय साझेदारी कायम राख्नेछ ।
नेपालको पहिलो आर्थिक दैनिकका रूपमा कारोबारलाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने पाठकवृन्द, ग्राहक, विज्ञापनदाता, पत्रकार, कर्मचारी, वितरक, विद्वान् लेखक वर्ग तथा अन्य सरोकारवाला सबै पक्षमा सातौं वार्षिकोत्सवका अवसरमा हार्दिक आभार व्यक्त गर्दछौं ।