दुईजना सांसद उभिएका भरमा संसद अवरुद्ध हुँदैन : प्रधानमन्त्री «

दुईजना सांसद उभिएका भरमा संसद अवरुद्ध हुँदैन : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले एक–दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का तीन नम्बर प्रदेशका सांसदहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
“एउटा निहुँ झिकेर दुईजना सँसद ठिंग उभिँदा संसदका सबै गतिविधि अवरुद्ध हुने हुनु हुँदैन । नेपाली कांग्रेसले झिनामसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने । अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्तो हुँदैन । दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिँदैन,” उनले भने ।
प्रधानमन्त्री ओलीले देश विकासका कुरा, जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पूरा गर्नका लागि प्रयोग गर्नु नहुने बताए । “हामी दुई तिहाई बहुमतमा छौं । हाम्रा माननीयहरुले विकासका कुरा संसदमा जोडदार उठाउनुपर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नुपर्दछ,” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले साउन महिनाभित्रै सबै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताए । “साउनभित्र पार्टी एकिकरण प्रक्रिया सकिन्छ । त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन् । अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ । अब त्यो रोकिन्छ,” उनले भने ।
सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले दोहोराए । सरकार असफल नहुने र जनताको भरोसालाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीले बताए ।
सांसदहरु कृष्णभक्त पोख्रेल, रामनारायण विडारी, पार्वत गुरुङ, विरोध खतिवडा, महेश बस्नेत, कृष्णरज दाहाल, अन्जना बिशंखे, बिमला पौडेल राई, सुजिता शाक्य, कृष्ण राई, हितबहादुर तामाङ, गोमा देवकोटा लगायतले समसामयिक राजनीतिक विषय, जिल्ला तथा क्षेत्रहरुमा उठेका विभिन्न समस्याहरु प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्