संविधान तहसनहस बनाउने खेल भइरहेको छ : सिटौला

विराटनगर-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुई तिहाईको दम्भमा सरकारले संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।
विराटनगरमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए ।
“दुई तिहाईको बलमा सरकार संविधान र कानुनविपरीतका काम गरिरहेको छ,” नेता सिटौलाले भने, “सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् । अब सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेसले प्रतिवाद गर्दछ ।” उनले प्रजातन्त्रका लागि २००७ सालदेखि लड्दै आएको कांग्रेसलाई कमजोर नठान्न कम्युनिष्ट सरकारलाई चेतावनीसमेत दिए ।
सरकारले संविधान र कानुनलाई गलत प्रयोग गरिरहेको उनको भनाइ थियो । समृद्धिको नारा कुनै पार्टी विशेषको नभएको उनको भनाइ थियो । लोकतान्त्रिक मूल्यमान्यतामा रहेर मुलुकको समग्र आर्थिक समृद्धि गर्ने संविधानमै उल्लेख भएको उनले बताए । “आर्थिक समृद्धि कुनै कम्युनिष्ट पार्टीको होइन, यो त संविधानमै उल्लेख छ,” उनले भने, “नेपाली जनताको अपमान हुने गरी सरकारले संविधानको प्रयोग गरिरहेको छ ।”
गठन भएको ६ महिना पनि नबित्दै सरकारप्रति गम्भीर आशंका उब्जिएको उनको कथन थियो । मुलुकको पछिल्लो घटनाक्रमले सरकारप्रति जनताको भरोसासमेत गिर्दै गएको सिटौलाले बताए । “प्राज्ञिक क्षेत्रको नेतृत्व गर्दै विदेश उड्न लागेको उपकुलपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा गिरफ्तारीको शैलीमा बालुवाटार पु¥याइन्छ,” उनले भने, “अनि घन्टौंसम्म राखिन्छ र छोडिन्छ । यो कस्तो लोकतन्त्र हो ?” उपकुलपतिलाई अगाडि नै विदेश भ्रमण अस्वीकृत भएको जानकारी दिन सकिने उनले बताए । तर, सरकारले दम्भका भरमा अन्य कर्मचारी र प्राज्ञिक क्षेत्रलाई समेत त्रासमा राख्ने खोजेको उनले आरोप लगाए ।