कोरोना संक्रमित बढेसँगै लमजुङका आइसोलेसन भरिए
लमजुङ-कोरोना संक्रमितको संख्या बढेसँगै लमजुङका आइसोलेन भरिएका छन् । क्षमताभन्दा बढी बिरामीको संख्या भएपछि १ सय शय्यासहित जिल्लामा निर्माण भएका तीनवटा आइसोलेसनका सबै शय्या भरिएका हुन् ।
हालसम्म लमजुङमा कोरोना संक्रमितहरूको संख्या २ सय १५ पुगेको छ । कुल संक्रमितमध्ये १ सय १३ जना संक्रमण मुक्त भए पनि हाल १ सय २ जना आइसोलेसनमा राखिएका छन् । निर्माण गरिएको आइसोलेसन शय्याभन्दा संक्रमितको संख्या धेरै भएकोले व्यवस्थापनमा चुनौति थपिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
“हाल तयार भएका आइसोलेसन शय्याभन्दा संक्रमितको संख्या धेरै भएको छ,” प्रजिअ शर्माले भने “हामीले अब त्यही स्थान र नयाँ स्थानमा शय्या थपेर व्यवस्थापन गर्ने तयारीमा छौँ ।”
सोमबार थप २६ जनाको पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएसँगै जिल्लामा संक्रमितहरूको संख्या २ सय कटेको हो । जिल्लामा अझै पनि १ सयभन्दा बढीको पीसीआर रिपोर्ट आउन बाँकी रहेको र संक्रमितको संख्या बढ्न सक्ने भन्दै आइसोलेसन कक्षको थप व्यवस्थापनमा लागिएको सीएमसीले जनाएको छ ।
“जिल्लामा अझ ैपनि संक्रमितको संख्या बढ्ने अनुमान छ,” प्रजिअ शर्माले भने, “हामीले सोहीबमोजिम आइसोलेसन पनि थप्ने तयारी गरिसकेका छौँ ।” जिल्लामा देखिएका संक्रमितमध्ये महिलाहरूलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ भने अन्य पुरुष संक्रमितहरूलाई बेंसीसहरकै सहजीस्थित सहरी विकासको भवन र सुन्दरबजारको नमुना सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।
जिल्लामा सदरमुकाम बेसीशहरस्थित लमजुङ जिल्ला सामूदायिक अस्पतालमा ४० शय्याको आइसोलेसन कक्ष निर्माण भएको छ । सामुदायिक अस्पतालको आइसोलेसनमा भने महिला संक्रमितहरूलाई मात्रै राखिएको छ ।
सो बाहेक बेसीसहरकै सहजीस्थित भवन डिभिजनको कार्यालयमा ३० शय्याको आइसोलेसन कक्षा निर्माण भएको थियो । तर, अहिले संक्रमितहरूको संख्या बढेपछि सहजीमा कम्तीमा ६० शय्याको आइसोलेसन बनाउने तयारी भएको छ । यसअघि बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभा हलमा निर्माण भएको आइसोलेसनलाई सहजिमा सारिएको हो । जिसस सभा हलमा अन्य व्यवस्थापन गर्न कठिन भएपछि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको सहजी भवनलाई आइसोलेसनको रुपमा प्रयोग गरिएको हो ।
जिल्लाको सुन्दरवजारस्थित नमूना सामूदायिक अस्पतालमा पनि ३० शैयाको आइसोलेसन तयार भएको थियो । हाल उक्त अस्पतालमा कम्तीमा १० शैया थप्ने तयारी भएको छ । जिल्लामा आइसोलेसन कक्ष अभाव भएपछि यसअघि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको सुन्दरजारकै कृषि क्याम्पसलाई पुनः आईशोलेसनको रुपमा सञ्चालन गर्ने सिएमसीको तयारी छ ।
सिएमसीका अनुसार जिल्लाका सक्रिय संक्रमितमध्ये सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालको आइसोलेसनमा सेनाका २२ जनासहित २३ जना राखिएको थियो । यता बेसीसहरको सहजीस्थित आइसोलेसनमा ४१ जना छन् भने लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा १२ जना राखिएको थियो ।
नेपाल पत्रकार महासंघद्वारा थप सतर्कता अपनाउन आग्रह
लमजुङका कोरोना भाइरस संक्रमण बढ्दै गएपछि थप सतर्कता अपनाउन नेपाल पत्रकार महासंघ लमजुङ शाखाले आग्रह गरेको छ । जिल्लाका सञ्चारकर्मीसहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै सचेत रहन महासंघ जिल्ला शाखाले आग्रह गरेको हो । महासंघ जिल्ला शाखा सचिव सन्देश पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै संक्रमितहरूको स्वास्थ्यलाभको कामनासहित अन्य सवै सरोकारवालाहरूलाई सचेत रहन आग्रह गरे ।
विज्ञप्तिमा संक्रमितहरूको उपचार, राहतमा हुनसक्ने बाहनाबाजी, ढिलाइ, लापरवाही, अनियमिततामा अत्यन्त सूक्ष्म ढंगले खबरदारी गर्नसमेत सबै पत्रकारहरूलाई अनुरोध गरिएको छ । अहिलेको कठिन समयमा जिल्लाबासी आम नागरिकहरूमा कत्तिपनि विचलित नभई आफ्नो स्वास्थ्यमा सजकता अपनाउँदै डब्लूएचओ र स्वास्थ्य निकायका सुझावहरू ग्रहण गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।