अमेरिकामा ड्रोनले गर्न थाल्यो सामानको आपूर्ति

न्यूयोर्क-हामी जब बजारबाट सामान खरिद गर्छौ, तत्काल पैसा दिएर आफ्नो साथमा लिएर हिड्छौ । तर अनलाइन शपिङमा सामानको आपूर्ति केही दिनपछि हुन्छ र ग्राहकले आफ्नो मन परेको सामग्री लिनका लागि लामो समय कुर्नुपर्छ । पछिल्लो समयमा अमेजनबाट सामग्री खरिद गरियो भने आधा घन्टामै सामानको आपूर्ति गरिने भएको छ । विश्वकै धनी व्यक्ति जेफ बेजोसको कम्पनी अमेजनले अब ड्रोनबाट सामानको डेलिभरी गर्ने अनुमति पाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) बाट अमेजन कम्पनीको प्याकेजको डेलिभरी ड्रोनबाट गर्ने अनुमती पाएको छ ।
छिट्टै सुरु हुनेछ ड्रोन डेलिभरी
अमेजन कम्पनीले अनुमति पाएपछिको अवस्थालाई यो एक महत्वपूर्ण कदम भएको बताएको छ । तर कम्पनीले अभैm ड्रोनको उडान र अन्य परीक्षण गरिरहेको छ । यद्यपि कम्पनीले ग्राहकलाई कहिलेसम्म ड्रोनको माध्यमबाट डेलिभरी सुरु गर्ने भन्ने खुलाएको छैन । यो दिग्गज कम्पनी विगतका कयौं वर्षदेखि ड्रोनको माध्यमबाट सामानको आपूर्तिको अभ्यास गरिरहेको छ । कम्पनीका सीईओ जेफ बेजोसले २०१३ मा एक अन्तर्वार्तामा कम्पनीले ५ वर्षमा ग्राहकलाई ड्रोनको माध्यमबाट डेलिभरी सुरु गर्ने र अब एफएएबाट अनुमती प्राप्त भएपछि कम्पनीको यो सपना पुरा भएको बताएका छन् ।
५ पाउण्डसम्मको सामान बोक्न सक्छ ड्रोन
अमेजनलाई एफएएले पार्ट १३५ एयर क्यारियर सर्टिफिकेट दिएको छ । यसबाट कम्पनीले प्राइम एयर ड्रोन्सको प्रयोग गर्न सक्छ । यद्यपि कम्पनीले डेलिभरीको सुरक्षा प्रमाण दिनु पर्नेछ र एफएएले सामानको एक पटक परीक्षण पनि हेर्नुपर्नेछ । कम्पनीले गत वर्ष लास भेगासमा एक इलेक्ट्रिक हेक्सागन ड्रोनको बारेमा बताएको थियो । यसले ५ पाउण्डसम्मको सामान बोक्न सक्छ ।
अचम्मको कुरा यो छ कि अमेजन विश्वका कयौ देशमा एक दिनमा डेलिभरी गरिरहेको छ । अमेजन पार्ट १३५ एयर क्यारियर सर्टिफिकेट पाउने अमेरिकाको तेस्रो कम्पनी हो । यो भन्दा पहिले गुगलको मुल कम्पनी अल्फाबेटको विंग एभिएसन तथा यूपीएस फ्लाइट फरवार्डलाई यो सर्टिफिकेट दिएको थियो । तर कुनै पनि कम्पनीले हालसम्म ड्रोनबाट डेलिभरी सुरु गरेका छैनन् । तर अमेजनले छिट्टै ड्रोनबाट डेलिभरी सुरु गर्ने अपेक्षा गरिएको छ ।