सामाजिक सुरक्षा भत्ताबापत २९ करोड ८१ लाख वितरण «

सामाजिक सुरक्षा भत्ताबापत २९ करोड ८१ लाख वितरण

ताप्लेजुङ-जिल्लाको ९ वटा स्थानीय तहले आर्थिक वर्ष २०७६-०७७ मा सामाजिक सुरक्षाभत्ताबापत २९ करोड ८१ लाख १९ हजार २ सय रुपैयाँ वितरण गरेको छ । जिल्लाका ६१ वटा वडामध्ये २ वटा वडाले मात्र बैंकमार्फत उपलब्ध गराएको छन् । फुङलिङ नगरपालिकाको वडा नम्बर ५ र ७ ले मात्र बैकबाट भुक्तानी व्यवस्था गरेको छ । बाँकी ५९ वटा वडाले चालु आर्थिक वर्ष २०७७-०७८ बाट बैंकबाट भुक्तानी गर्ने तयारी गरेको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राही सबैभन्दा बढी फुङलिङ नगरपालिकामा छ । नगरपालिकाले ५ करोड ६९ लाख ६९ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको लेखा प्रमुख तेजिन्द्र तामाङले जानकारी दिए । तीमध्ये जेष्ठ नागरिक १ सय ८९ जना, एकल पुरुष २ सय ८७ जना, एकल महिला २ सय ४६ जना छन् ।
मेरिङ्देन गाउँपालिकाले २ करोड ९५ लाख ७० हजार आठ सय रुपैयाँ वितरण गरेको छ । यसैगरी पाथीभरा याङ्वरक गाउँपालिकाले ३ करोड ६४ लाख २४ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष केशर मेन्याङबोले जानकारी दिए ।
फक्ताङ्लुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताबापत २ करोड ९० लाख ३५ हजार २ सय रुपैयाँ वितरण गरेको छ । आठराई त्रिवेणी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वापत ३ करोड ५१ लाख ८ हजार ६ सय रुपैयाँ वितरण गरेको गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले जानकारी दिए । मैवाखोला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताबापत २ करोड वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
मिक्वाखोला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वापत २ करोड २५ लाख ४३ हजार २ सय रुपैयाँ वितरण गरेको छ । सिदिङ्वा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वापत ३ करोड ३ लाख १७ हजार ८ सय रुपैयाँ वितरण गरेको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए ।
यसैगरि सिरीजंगा गाउँपालिकाले ३ करोड ८१ लाख ५० हजार ६ सय रुपैयाँ वितरण गरेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्