प्रधानमन्त्रीसहित पाँच पूर्वप्रधानमन्त्री विजयी

संघीयता कार्यान्वयनको लागि महत्वपूर्ण मानिएको संघीय संसदको प्रतिनिधिसभाको लागि पहिलोपटक भएको निर्वाचनमा एउटा संयोग नै मान्नुपर्छ, वहालवाला प्रधानमन्त्रीदेखि पाँचजना पूर्वप्रधानमन्त्रीले विजय प्राप्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनमा विजय भएका हुन् ।
प्रम देउवा त बहुदलीय प्रजातन्त्र आएदेखि भएका निर्वाचनमा विजयी बन्दै आएका छन् भने अन्य पनि अहिलेसमेत गरी तीन-चारपटक सांसद बनिसकेका छन् । जनताले मत दिएर उनीहरूलाई फेरि राजनीतिक सक्रियताको लागि अनुमोदन गराएका छन् । पार्टीगत पोर्टफोलियोमा प्रम देउवा नेपाली कांग्रेस सभापति हुन् भने दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । यसैगरी ओली नेकपा एमालेका अध्यक्ष हुन् भने भट्टराई नयाँ शक्ति नेपालका संयोजक हुन् । उता नेपाल र खनाल क्रमशः एमालेकै पूर्वमहासचिव र पूर्वअध्यक्ष हुन् ।
प्रम देउवाका प्रतिद्वन्द्वी एमाले उम्मेदवार थिए भने पूर्वप्रम दाहालका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार । यसैगरी पूर्वप्रम नेपाल, खनाल र ओलीका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार थिए भने पूर्वप्रम भट्टराईका नेकपा माओवादी केन्द्रका । प्रम देउवाले एकल रूपमा प्रतिद्वन्द्वीलाई हराएका हुन् भने अन्य पाँचै जना पूर्वप्रमले अर्को पार्टीसँग गठबन्धनमा प्रतिद्वन्द्वीलाई हराएका हुन् । लोकतान्त्रिक गठबन्धन भनिए पनि प्रम देउवा विजयी भएको डडेलधुरामा चाहिँ त्यस्तो गठबन्धन थिएन ।
सोमबार चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट पूर्वप्रम दाहाल विजयी घोषणा भए । देउवा चारपटक र दाहाल दुईपटक प्रम बनिसकेका छन् भने बाँकी एक–एकपटक । निर्वाचन मतपरिणामले संघीय संसदको पहिलो प्रम हुने अवसर एमाले अध्यक्ष ओलीले पाउने निश्चितप्रायः देखिएकोले उनले पनि प्रम दोहोर्याउँदै छन् ।
उता हिजो ज–जसले संविधान सभामार्फत् संविधान बनाउन भूमिका निर्वाह गरेका थिए, उनीहरू नै संघीय संसदको सदस्यमा प्रवेश गर्नुले संविधान र संघीयता कार्यान्वयनको लागि सुखद् क्षण बन्ने अनुमान गर्न सकिन्छ । किनकि अनुभव, विचार र व्यवहारको कसौटीमा खरिएकाको योगदानले संक्रमणकालको अन्त्यसँगै संघियताको बलियो जग बसाउन मात्रै होइन, हुर्काउन, बढाउन पनि सहज हुने अपेक्षा गर्न सकिन्छ । संघीय संसदका नवप्रवेशीले पनि अनुभवीको सिको गर्ने अवसर पाउनेछन् ।
पूर्वप्रमहरू सबै नै सक्रिय राजनीतिमा रहनु पनि नेपालको यतिखेरको राजनीतिको लागि अर्को सुखद् संयोग नै मान्नुपर्छ । जीवित दुई पूर्वप्रम तुल्सी गिरी र लोकन्द्रबहादुर चन्दचाहिँ सक्रिय राजनीतिमा छैनन् । चन्दले छोरालाई राजनीतिमा अघि सारेर निष्कृय बनेका छन् ।