कास्कीमा व्यावसायिक किवी खेती सुरु «

कास्कीमा व्यावसायिक किवी खेती सुरु


पोखरा-
कास्कीको माछापुछ्रे गाउँपालिका छ धितालस्थित एक सरकारी अधिकृत कर्मचारीले व्यावसायिक किवी खेती गर्न थालेका छन् । परम्परागत रुपमा हुँदै आएको कोदो र मकै उत्पादन हुने बारीमा विगत ७ वर्षदेखि स्थानीय जनकराज पौडेलले किवी खेती गर्दै आएका हुन् ।
२०५६ सालमा सरकारी जागिरे भएका पौडेलले आफ्नो रिटायर जिवनमा किवी खेतीबाटै जिवन निर्वाह गर्ने दीर्घकालिन लक्ष्यका साथ किवी खेतीमा आकर्षित भएका हुन् । माछापुछ्रे मणिडाँडा सामुदायिक स्वास्थ्य इकाइका अधिकृत पौडेलले भने, “हामीले हाम्रो परम्परागत बाली कोदो र मकै लगाउँदा त्यही डेढ रोपनी जमिनमा करिब १० पाथी मात्र उत्पादन हुन्थ्यो तर, आज किवी खेती गर्दा वार्षिक रुपमा एक लाख भन्दा बढी आम्दानी हुने गरेको छ ।” उनले किवीको साथमा चिया खेतीसमेत गर्ने भएका छन् ।
स्वास्थ्यका दृष्टिले निकै फलदायी हुने किवीको माग बढेको हुँदा यसको उत्पादनमा आफ्नो फुर्सदको समयको सदुपयोग गरेको बताए । २०७१ सालमा किवी खेती सुरु गरेका उनले कम समयमा वार्षिक लाखौं आम्दानी भएसँगै थप दुई सय किवीका बिरुवा रोप्ने योजना रहेको बताए । उनले प्रतिकेजी ४ सय रुपैयाँमा किवी बिक्री गर्दै आएका छन् ।
किवी नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको पूर्ति गर्नेलगायतका फाइदाहरु हुने विश्वास गरिएको छ । पौडेलको जाँगर देखेर स्थानीयहरु समेत प्रभावित भएर व्यावसायिक फलफूल तथा तरकारी उत्पादनमा लाग्न थालेको शिव पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्