प्राकृतिक विपदबाट करिब २ करोडको क्षति «

प्राकृतिक विपदबाट करिब २ करोडको क्षति

दाङ-प्राकृतिक विपद्बाट दाङमा करिब २ करोडको क्षति भएको छ ।
चार महिनाको अवधिमा प्राकृतिक विपद्बाट करिब दुई करोडको क्षति भएको हो । जिल्लाका १० स्थानीय तहका विभिन्न स्थानमा आगलागी, पहिरो, करेन्टलगायतका घटनाका कारण साउनसम्म करिब दुई करोडको क्षति हुन पुगेको हो । वैशाखदेखि साउन महिनासम्म चार महिनाको अवधिमा प्राकृतिक विपद्का कारण एक करोड ८० लाख ९१ हजार चार सय ४० रुपैयाँ बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचनाकर्ता अजेन्द्र केसीले जानकारी दिए । उनकाअनुसार चार महिनाको अवधिमा सबैभन्दा धेरै क्षति साउन महिनामा मात्रै एक करोड ४ लाख ५४ हजार एक सय ५० रुपैयाँ बराबरको भएको छ । जुन अन्य महिनाको तुलनामा अत्यधिक धेरै हो । अन्य महिनाको तुलनामा साउन महिना बाढीपहिरो, सर्पदंशलगायतका प्राकृतिक विपद्का घटना धेरै हुने भएकाले पनि क्षति बढेको केन्द्रले जनाएको छ । साउन महिनामा पहिरो, वर्षात्का कारण घर भत्किएका, करेन्ट, आगलागी, सर्पदंशले टोकेका ६३ वटा घटना घटेका छन् ।
केन्द्रकाअनुसार साउनमा भारी वर्षात्का कारण घरगोठमा भएको क्षतिसम्बन्धी ३३ वटा घटना छन् । यसैगरी सर्पदंशका १५, पानीमा डुबी मृत्यु भएका ९, करेन्ट लागेका ३ र आगलागीका एकवटा घटना भएका छन् । यसैगरी असारमा ४५ लाख ८७ हजार २ सय ९० रुपैयाँको क्षति भएको केन्द्रका सूचनाकर्ता केसीले जानकारी दिए । केन्द्रका सूचनाकर्ता केसीका अनुसार असारमा १९ वटा विपद्का घटना भएका थिए । यसैगरी प्राकृतिक विपदका कारण जेठ महिनामा १३ लाख ५० हजार र बैशाख महिनामा ८ लाख रुपैयाँ बराबरको क्षति भएको केन्द्रले जानकारी दिएको छ । प्राकृतिक विपद् जेठ महिनामा ८ र वैशाख महिनामा ६ वटा घटना घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्