सेयर बजारमा ४ अर्ब १८ करोडको कारोबार «

सेयर बजारमा ४ अर्ब १८ करोडको कारोबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार २५ अंकले बढेको छ । नेप्से सूचकमा दाहोरो अंकको सुधार आउँदा कारोबार रकम पनि ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
नेप्से सूचकसँगै कारोबार रकममा पनि आएको सुधारले नेप्सेको बजामा पुँजीकरण पनि बढेर १९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । लगानीका अन्य क्षेत्र नहुनु र बैंकिङ प्रणालीको ब्याजदर घट्दो क्रममा भएपछि सेयर बजारमा उच्च अंकको सुधार आउन थालेको हो । पछिल्लो समयमा बैंकिङ प्रणालीको पैसासमेत सेयर बजारमा आउन थालेपछि लगानीकर्ताको मनोबल समेत बलियो भएको देखिन्छ ।
कोरोना महामारीका कारण सेयर कारोबार पनि प्रविधिमार्फत हुने गरेको छ । लगानीकर्ताले घरमै बसेर प्रविधिको प्रयोग गरी सेयर खरिद बिक्री गरेको अवस्था छ । कोरोनाका कारण अर्थतन्त्र नै ठप्प भएपछि सेयर बजार भने चलायमान हुन थालेको हो ।
चालु आर्थिक वर्षको दोस्रो महिना भदौ सुरु भएसँगै सुधार गतिमा देखिएको सेयर बजार दैनिकजसो बढेको छ । बुधबार नेप्सेमा ४ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो कारोबार रकम हालसम्मकै तेस्रो धेरै हो । यसअघि गत फागुन १८ गते हालसम्मकै उच्च ४ अर्ब ८४ करोड बराबरको कारोबार भएको थियो । यस्तै फागुन १५ गते दोस्रो ठूलो ४ अर्ब ४६ करोडको सेयर किनबेच भएको थियो । फागुन १४ गते ४ अर्ब १५ करोड बराबरको कारोबार भएको थियो ।
बुधबार बजारमा नेप्से सूचक २५.५८ अंकले बढेर १५१०.५७ अंकमा पुगेको छ । बुधबार कारोबार भएका समूहगत परिसूचकमध्ये बिमाबाहेक सबै बढेपछि बजार बढेको हो । बुधबार अधिकांश जलविद्युत् कम्पनीको सेयर मूल्यमा भने उच्च सुधार आएको छ ।
बुधबार नेप्सेको कुल बजार पुँजीकरण १९ खर्ब ९८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । नेप्सेको यो कुल बजार पुँजीकरण सोमबारको तुलनामा ३३ अर्ब ८५ करोड रुपैयाँले धेरै हो । सोमबार नेप्सेको कुल बजार पुँजीकरण १९ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो । नेप्सेको बजार पुँजीकरण गणना गर्दा सूचिकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको सेयर बजारमा रहेको सम्पत्तीको आकार हो । नेप्सेमा सूचिकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचिकृत कम्पनीको सेयर मूल्य र सेयर संख्याको गुणनफल नै बजार पुँजीकरण हो । बजार पुँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्यांकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्