एआईका पूर्वानुमान गलत

गणितको समीकरणजस्तो होइन फुटबल
रूसमा जारी फिफा विश्वकप २०१८ का बारेमा गरिएका धेरै पूर्वानुमानहरू गलत सावित भएका छन् । योसँगै फेरि एकपटक फुटबल खेल गणितको समीकरणजस्तो नभएको पुष्टि हुन पुगेको छ ।
सूचना–प्रविधि क्षेत्रको महत्वपूर्ण प्रविधि कृत्रिम बौद्धिकता (एआई)ले गरेका पूर्वानुमानहरू गलत भएपछि यसको पुष्टि भएको हो । विश्वकप २०१८ सुरू हुनुअघि ‘द गोल्डम्यान स्याक्स ग्रुप’ले ‘एआई’को सहयोगमा एक पूर्वानुमान गरेको थियो । विश्वकपको शुरूवाती लिग चरणको खेलअघि गरिएको पूर्वानुमानमा ब्राजिलले विश्वकपको उपाधि उचाल्ने निष्कर्ष निकालिएको थियो ।
द गोल्डम्यान स्याक्स अमेरिकाको बहुराष्ट्रिय लगानी बैंक र वित्तीय सेवा प्रदायक कम्पनी हो । यसको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा छ ।
यो कम्पनीले लगानी बैंकिङका अतिरिक्त लगानी व्यवस्थापन, लगानी प्रत्याभूति, सम्पत्ति व्यवस्थापन, प्रमुख मध्यस्थतालगायत अन्य आर्थिक क्षेत्रका विषयहरूमा अनुसन्धानका कामसमेत गर्दै आएको छ ।
सन् १८६९ मा स्थापना भएको यो कम्पनीको वित्तीय अवस्था सन् २००७–२००८ मा खराब बन्न पुगेको थियो । अमेरिकाको खजाना विभागले १० अर्बको लगानी यसलाई गरेको थियो । यो सहयोग आकस्मिक आर्थिक स्थिरीकरण ऐन २००८ अन्तर्गत प्राप्त भएको थियो । यसमा काम गर्ने व्यक्तिहरू विश्वका ठूला–ठूला आर्थिक निकायका शीर्षस्थानमा पुगेका छन् । यस्ता व्यक्तिमध्ये युरोपेली केन्द्रीय बैंकका अध्यक्ष मारियो ड्रागी हुन् भने बैंक अफ इंग्ल्यान्डका गभर्नर मार्क क्रेनी लगायतका छन् ।
तर, यसले नियुक्त गरेको एआईले विश्वकपको पूर्वानुमान गलत गरेर फुटबल प्रेमीको विश्वास आर्जन गर्न सकेन । अर्कोतर्फ खेलको आफ्नै समीकरण हुन्छ, यो गणितिय समीकरणमा आउने परिणाम जस्तो हुँदैन भन्ने समेत यसले पुष्टि गरेको छ ।
सुरूमा एआईले ब्राजिल र जर्मनी फाइनलमा भिड्ने पूर्वानुमान गरेको थियो । तर यी दुईमध्ये जर्मनी त समूह चरणमै हरायो भने ब्राजिल क्वार्टरफाइनलबाट घर फर्कियो ।
जर्मनी पराजित भएपछि एआईले अर्को पूर्वानुमान गर्यो , त्यसमा पनि ब्राजिल नै जित्ने देखाएको थियो । तर, त्यो समेत गलत सावित भयो । ब्राजिल घर फर्केपछि अर्को तथ्यांकीय अध्ययन गरेर नयाँ पूर्वानुमान गर्यो ।
त्यसअनुसार बेल्जियमले फ्रान्सलाई हराउने र इंग्ल्यान्डले क्रोएसियालाई हराउने सेमिफाइनलको पूर्वानुमान गरिएको थियो । मंगलबार र बुधबार सम्पन्न यी सेमिफाइनलका परिणाम उल्टो आएको छ । फ्रान्सले बेल्जियमलाई घर फर्काएको छ भने क्रोएसियाले इंग्ल्यान्डको उपाधि सपना तुहाइदिएको छ ।
एआईको पूर्वअनुमान विपरित अब आइतबार फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दैछन् । एआईले बेल्जियमको जीत ३२.६ प्रतिशत, फ्रान्सको २९.८ प्रतिशत र इंग्ल्यान्डको २०.२ प्रतिशत जित्ने सम्भावना रहेको बताएको थियो ।
एआईको अध्ययनका अनुसार गोल्डम्यान स्याक्सका प्रमुख अर्थशास्त्री जान हात्सियसले भनेका थिए, ‘ब्राजिल अब आउट भएपछि बेल्जियम सम्भाव्यताको टेबलको शीर्षमा उक्लिएको छ । उसको उपाधि उचाल्ने सम्भावना ३२.६ प्रतिशत छ भने फ्रान्सको २९.८ प्रतिशत छ ।’ तर बेल्जियम अगाडि आउन नसकेपछि यो अध्ययनले फ्रान्सको सम्भावनालाई बलियो बनाएको देखिन्छ ।
एआईले सम्भाव्यता अध्ययनको गणितिय विधिलाई अपनाएर यो टेबल बनाएको थियो । जित्ने सम्भावनामा सबैभन्दा बढी कसको सम्भावना छ, त्यसको आधारमा टेवलको निर्माण गरेको थियो ।
यो टेबलको आधारमा फ्रान्स जित्ने देखिन्छ तर खेलको आफ्नै समीकरण हुन्छ । परिणाम जे पनि हुन सक्छ । क्रोएसिया पहिलो पटक फाइनलमा पुगेको छ । उपाधि उचाल्न सारा ताकत लगाएर खेल्छ भन्नेमा शंका छैन । गणितमा दशमलव पछाडिका मूल्यहरूको सूक्ष्म गणितले बिगारेमा क्रोएसियाले उपाधि उचाल्न सक्दैन भन्ने छैन । सम्भावनाको खेलमा परिणाम ‘छिनमा मासा र छिनमा तोला’ हुने गर्छ । यसलाई इन्कार त गर्न सकिँदैन । एआई गलत नै हो भनेर दावी नै गर्न पनि सक्ने अवस्था पनि छैन । यद्यपी उसका अनुमान भने गलत थिए भन्नेचाहिँ पुष्टि भएको छ ।