कर तिर्न राजस्वको ताकेता «

कर तिर्न राजस्वको ताकेता


राजस्व असुलीमा दबाब बढ्दै गएपछि आन्तरिक राजस्व विभागले फेरि कर तिर्न ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना सार्वजनिक गरेर अन्तःशुल्कको विवरण यथाशक्य छिटो बुझाउन आग्रह गरेको छ । कार्यालयले मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योगलाई कर विवरण र ब्राण्डबारे सचेत हुन पनि भनेको छ ।
यसअघि सर्वोच्च अदालतले लकडाउन खुलेको १ महिनासम्म कर तिरे हुने सूचना सार्वजनिक गरेको थियो । सर्वोच्चले दिएको आदेश बमोजिम विभागले कर विवरण बुझाउन भन्दै सूचना सार्वजनिक गरिएको विभागले जनाएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार गत साउन ७ गते खोलिएको लकडाउनपछिको एक महिना भदौ ७ गते पूरा हुने आंकलन विभागले गरेको छ । विभागका अनुसार करदाताले सुर्ती र मदिराजन्य वस्तुका उत्पादकले अनलाइनमार्फत नै कर विवरण र ब्राण्ड भेरिफाइड गर्न सक्नेछन् । यसका लागि विभागले आफ्नो वेवसाइटमार्फत सबै व्यवस्था गरेको पनि जानकारी गराएको छ । सुर्ती र मदिराजन्य बाहेक अन्य वस्तुको उत्पादकले अन्तःशुल्क विवरण भर्दाकै अवस्थामा तयारी वस्तुको विवरणसँगै एक पटकको लागि सम्बन्धित करदाता सेवा कार्यालयबाट ब्राण्ड भेरिफाइ गर्न सकिने समेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्