Logo

थन्किएको चार वर्षपछि सञ्चालनमा

महेन्द्रनगर-कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अस्पतालमा विगत चार वर्षदेखि थन्किएको आईसीयू सञ्चालनमा ल्याइएको छ । अस्पतालमा आवश्यक जनशक्ति नहुँदा अस्पतालमा जडान गरिएको आईसीयू चार वर्षपछि सञ्चालनमा ल्याइएको हो ।
आईसीयू सञ्चालनमा ल्याइएपछि आईसीयूकै कारण रेफर भई अन्यत्र जाने बिरामीलाई भने सहज भएको छ । स्थापनाकालको ५७ वर्षपछि आईसीयू सञ्चालन गरेको अस्पतालले अहिले अरू सेवा सुविधा पनि विस्तार गर्दै लगेको छ । तर, अस्पतालमा अझै पनि जनशक्ति अभाव हुँदा समस्या भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
“दरबन्दीअनुसार अस्पताललाई २९ जना डाक्टर हुनुपर्ने हो ।” महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “ आईसीयू सञ्चालन गर्ने भन्ने हाम्रो टिमको प्रतिबद्धता थियो, थोरै जनशक्तिमा पनि आईसीयू सञ्चालन गरेका छौं, हुनुपर्ने जनशक्ति अहिलेसम्मै अभावै अभाव छ ।” अस्पतालमा अहिले दरबन्दीअनुसार २९ जना डाक्टरमध्ये २३ वटा डाक्टर रहेको उनले बताए ।
यसैगरी अस्पतालले बिग्रिएका र आवश्यक पर्ने नयाँ उपकरण पनि थपेको छ । बिरामीलाई महाकाली मै सबै सेवा सुविधा होस् भनेर अस्पतालले अहिले विभिन्न किसिमका सेवालाई थप विस्तार गरेको जनाएको छ ।
“फार्मेसी, आईसीयू थाइराइड, अल्ट्रासाउन्ड, श्याम आर मेसिन(हाडजोर्नी सम्बन्धी) सेवालाई थप विस्तार गरिएको छ ।, एम्बुलेन्सको संख्यालाई पनि दुईवटा बनाइएको छ, र शव वहान पनि खरिद गरिएको छ ।” अध्यक्ष जोशीले भने, । अस्पतालले विगतमा १२ घण्टा दिने सुविधालाई पनि अहिले २४ घण्टा दिने गरिएको जोशीले बताए ।
उपकरण थप्ने क्रम बढे पनि अस्पताललाई उपकरण सञ्चालन गर्नमा भने समस्या छ । ल्याइएको जडान गरिएको मेसिन पनि विशेषज्ञ डाक्टरको अभावले थला पर्ने स्थिति छ । अस्पतालमा अहिले बालरोग विशेषज्ञ, फिजिसियन, डिआर, इन्डोस्कपी, सिटिस्केनको समस्या छ ।
“व्यवस्थापनको पाटो विगतको भन्दा अहिले धेरै सुधार गरिएको छ ।” अध्यक्ष जोशीले भने, “व्यवस्थापन सुधार गरिए पनि आवश्यक विशेषज्ञ डाक्टरको अभाव हुँदा रेफर हुने बिरामीको संख्यामा कमी आए पनि गुणस्थर रूपले सेवा दिन समस्या भएको छ ।” साढे ५ बिगाहा क्षेत्रफलमा रहेको महाकाली अस्पतालमा विशेष महत्व जनशक्तिलाई नै दिनुपर्ने जोशीको बुझाई छ ।
डेढ सय बेडको क्षमता बोकेको अस्पतालमा पहिलेको भन्दा अहिले बिरामीको चाप भने बढेको छ । अस्पतालमा अहिले दैनिकजसो हजारदेखि दुई हजारसम्म बिरामी उपचार गराउन आउने गरेको अस्पतालले जनाएको छ । यसैगरी विगतमा रेफर सेन्टर र सुरक्षाको तवरले भरपर्दाे नभएको भन्दै प्रचार गरिएको अस्पतालमा अहिले सुविधा भएको छ ।
“विगतमा अस्पतालको अवस्था निकै दयनीय थियो, रेफर सेन्टरका नामले चिनिने गथ्र्याे,” जोशीले भने, “आफ्नो कार्यकाल यता सवै सँग सहकार्य गरी अस्पताललाई केही सुधार गर्न सकेको अवस्था छ ।” अस्पतालले अहिले करारमार्फत ९ जना सुरक्षागार्ड पनि रोखेको छ । यसैगरी डेढ सय बेड क्षमता बोकेको अस्पताललाई आउँदो दिनमा सय बेड थप्ने योजना रहेको अध्यक्ष जोशीले भने । यस्तै चिकित्सको आवासका लागि पनि अस्पताल परिसरमै अत्याधुनिक भवनसँगै थप एक भवन अत्याधुनिक अस्पतालका लागि पनि निर्माणको प्रक्रिया अघि बढाइएको छ । २०७२ सालमा नेपाल सरकारले महेन्द्रनगरस्थित महाकाली अस्पतालमा आईसीयू हस्तान्तरण गरेको आईसीयू सञ्चालनमा नआउँदा दिनहुँजसो बिरामी रिफर भएर अन्यत्र जाने गर्थे ।

प्रतिक्रिया दिनुहोस्