१० हजार व्यवसायी संकटमा, धमाधम विस्थापित

कोरोना कहरमा ठमेल
कोरोना संक्रमणको जोखिमका कारण पाँच महिनादेखि व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरू संकटमा परेका छन् । स्वदेशीमात्र नभइ विदेशी पर्यटकको समेत भिडभाडले बैग्लै रौनक देखिने काठमाडौंको मुख्य पर्यटकीय गन्तव्य ठमेलमा यस्तो संकटको अवस्था आएको हो ।
ठमेल पर्यटन विकास परिषद्का अनुसार यस क्षेत्रमा सानाठूला गरेर १० हजार व्यवसायी रहेका छन् । ती व्यवसायीहरूले भाडाबापत मासिक ३० करोड रुपैयाँभन्दा बढी बुझाउने गरेको परिषद्को तथ्यांकले देखाउँछ । ठमेलमा खासगरी कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकला, रेस्टुरेन्ट, पर्यटकीय स्तरका होटल, तारे होटल लगायतका व्यवसाय सञ्चालन हुन्छन् । कोरोनासँगै पर्यटक आउन छोडेपछि अधिकांश व्यवसायहरू विस्थापित हुन थालेका छन् ।
व्यापार व्यवसाय ठप्प भएपछि घरभाडा तिर्न समेत समस्या भएको र अधिकांश व्यवसायीहरू विस्थापनको क्रममा रहेका परिषदका अधिकारीहरू बताउँछन् । परिषद्का उपाध्यक्ष भवि शर्माले गत चैतयता व्यवसाय पूर्ण रुपमा बन्द हुँदा घरभाडा तिर्न गाह्रो भएको बताए । “घरभाडा महँगो छ, बैंकको ब्याज बढ्दो छ, तर पर्यटनको आगमन ठप्प छ । कतिपय विस्थापित भइसके, धेरै छाड्ने क्रममा छन्,” उनले भने । ठमेलभित्र रहेका अधिकांश घरधनीले ३० देखि ७० प्रतिशतसम्म घरभाडा छुट दिए पनि केही घरबेटीले घरभाडा समायोजन नगरिदिँदा त्यस्ता व्यवसायीहरू विस्थापित भइसकेको उनको भनाइ छ । उपत्यकामा पुनः निषेधाज्ञा जारी भएपछि भने अभैm लामो समय व्यापार व्यवसाय ठप्प हुने देखिएकोले घरभाडा छुट पाएका व्यवसायीहरू पनि भाडा तिर्न नसकेर विस्थापित हुनुपर्ने अवस्थामा पुगेको शर्माले बताए ।
काठमाडौंमा अन्य क्षेत्रको तुलनामा ठमेलको घरभाडा महँगो छ । त्यसै पनि ठमेल क्षेत्र पूर्ण रूपमा पर्यटकमा निर्भर छ । अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण पर्यटकहरू आउने अवस्था पनि छैन । सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपछि ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीहरूले लगानी पनि बढाएका थिए । उपाध्यक्ष शर्माले घरजग्गा विक्री गरेर र बैंक ऋण गरेर लगानी गरेका व्यवसायीहरू यतिवेला सबैभन्दा बढी समस्यामा रहेको बताए । सरकारले पर्यटन व्यवसायीहरूलाई पुनर्कर्जा उपलब्ध गराउने भने पनि त्यसको कार्यान्वयन समयमै नहुँदा व्यवसायीहरू झन संकटमा पर्दै गएको उनीहरूको गुनासो छ ।