प्यूठानमा ५० बेडको आइसोलेसन
प्यूठान-कोरोना सङ्क्रमणको जोखिम कम गर्न प्यूठानमा ५० बेडको आइसोलेसन कक्ष तयार गरिएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्रले संक्रमणको तयारी स्वरुप स्वास्थ्य मापदण्डअनुसार केन्द्र तयार गरेको हो । पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्ला स्तरको आइसोलेसन केन्द्र तयार गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
प्यूठानको मध्यक्षेत्र प्यूठान नगरपालिका–४ बिजुवारस्थित ज्येष्ठ नागरिक संरक्षण केन्द्रमा आइसोलेसन कक्ष तयार गरिएको छ । सरकारको मापदण्डअनुसार कक्ष तयार गरिएको प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक भुसालले बताए । “पछिल्लो समय सर्वसाधारणदेखि फ्रन्टलाइनमा काम गर्नेहरूमा समेत संक्रमण बढ्दै गएको छ,” भुसालले भने, “जोखिमलाई मध्यनजर गर्दै तयारी स्वरूप कक्ष स्थापना गरिएको हो ।” आइसोलेसन केन्द्र सञ्चालन मापदण्डअनुसार सुरक्षा, एम्बुलेन्स,सववाहन, डाक्टरको व्यवस्थापनलगायत आवश्यक पूर्वाधारको समेत व्यवस्थापन गरिएको उनले बताए । केन्द्रमा आवश्यकताअनुसार ७० बेडसम्म राख्न सकिने उनको भनाइ छ ।
सोमबार जिल्लास्थित नगर तथा गाउँपालिकाका मेयर तथा अध्यक्ष, सुरक्षा निकायलगायतको उपस्थितिमा केन्द्रको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले संकट व्यवस्थापनमा सवै पालिकाहरूको समन्वयकारी भूमिका हुनुपर्ने औल्याए । जिल्लामा हालसम्म ४ सय ४८ कोरोना सङ्क्रमित पुष्टि भएको छ । जसमध्ये १ जनाको मृत्यु भएको छ । ३ सय ८८ जना निको भएर घर फर्किएको र ५९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।