स्वास्थ्य सेवा सुदृढ गर्दै गजुरी गाउँपालिका «

स्वास्थ्य सेवा सुदृढ गर्दै गजुरी गाउँपालिका

धादिङ– गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल सरकारले तोकेको सेवामा भन्दा थप सेवा विस्तार गरिएको छ । सेवा विस्तार गर्ने क्रममा डिजिटल एक्स–रे मेसिन, रगत जाँचका लागि हेमाटोलोजी एनालाइजर, १५ वर्षमुनिका बालबालिकालाई लगाउने १२ वटा खोप र गर्भवती महिलाहरूलाई लगाइने खोप चिस्याउ आवश्यक पर्ने डिफ्रिज सेवा थप गरेको छ ।
नागरिकलाई आवश्यक पर्ने आधारभूत स्वास्थ्य सेवा सुदृढ गर्दै अस्पतालका रूपमा प्राथमिक स्वास्थ्य केन्द्रलाई विकास गर्न हरेक वर्ष नयाँ सेवाहरू विस्तार गर्दै लैजाने योजना रहेको नयाँ सेवा विस्तारको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुईवटा स्वास्थ्य केन्द्र र पाँचवटा आधारभूत स्वास्थ्य केन्द्रबाट नागरिकलाई स्वास्थ्य सेवा दिँदै आइरहेका छौं । स्वास्थ्य संस्थालाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण पनि गरिरहेका छौं ।
बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य कार्यालय धादिङको आर्थिक सहयोगमा एक्स–रे मेसिन, हेमाटोलोजी एनालाइजर र खोप चिस्याउन डिफ्रिज खरिद गरेको स्वास्थ्य संयोजक डाक्टर रामहरि रेग्मीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रबाट पोस्टमाटम सेवा, मर्चिङ फ्रिज, सेवा थप गरिएको केन्द्र प्रमुख डाक्टर खगेन्द्र श्रेष्ठले बताए । प्राथमिक स्वास्थ्य केन्द्र राजमार्ग क्षेत्रमा रहेकाले सडक दुर्घटनाका घाइतेहरूको उपचार गर्नुपर्ने हुन्छ ।
त्यसका लागि रगत परीक्षण र एक्स–रे सेवा अति आवश्यक हुन्छ । अब आवश्यकता पूरा भएको छ । एक जना स्टाफलाई तालिम गराएर काम गर्ने जिम्मेवारी तोकेका छौं । एक्स–रे मेसिन चलाउने प्राविधिक जनशक्तिको दरबन्दी भए काममा अझ सरलता हुने डाक्टर श्रेष्ठले बताए ।
गाउँपालिकाले १५ बेडको अस्पताल सञ्चालन गर्न पाउने व्यवस्थाअनुसार अस्पताल बनाउन जग्गा खोज्ने काम भइरहेको वडा अध्यक्ष एवं प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्