दोलखा आंशिक रूपमा खुल्यो «

दोलखा आंशिक रूपमा खुल्यो

दोलखा-१७ दिनदेखिको लकडाउन र ५ दिनदेखिको निषेधाज्ञापछि आज (मंगलबार)बाट दोलखा आंशिक रूपमा खुल्ने भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलको अध्यक्षतामा बसेको कोरोना व्यवस्थापन जिल्ला समितिको बैठकले थप ७ दिनसम्म लकडाउन कायम राख्दै आंशिक रूपमा खुला गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमित बिरामीका सम्पर्कमा रहेका व्यक्तिहरूको पीसीआर परीक्षणको नतिजा अझै आउन बाँकी रहेकाले आंशिक रूपमा अझै भदौ २२ गतेसम्म अझै लकडाउन जारी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले दिए । उनका अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सम्पूर्ण सरकारी तथा गैरसरकारी र बैंक तथा वित्तीय संस्थाका कार्यालय सुचारु हुनेछन् ।
विकास निर्माणसँग सम्पूर्ण काम स्वास्थ्य मापदण्ड पूरा गरी सुचारु गर्न अनुमति दिने तर निर्माण सामग्री बोकेका ढुवानीका साधन भने बिहान साढे ८ बजेभन्दा अघि र साँझ साढे ५ बजेपछि मात्र सञ्चालन गर्न पाउने उनले बताए ।
सैलुन र ब्युटिपार्लर तथा भेला सेमिनार गर्न भने निषेध गरेको छ । होटल तथा रेष्टुरेन्टबाट सामान किनेर लैजान पाइने मात्र व्यवस्था गरेको छ । अत्यावसेक सेवाका सवारी साधन जिल्लाभित्र सञ्चालनमा पनि अनुमति दिने निर्णय गरेको छ । मानिरलाई अनावश्यक हिँड्डुल नगर्न र जनस्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्न समेत सबैलाई आग्रह गरेको छ ।
पछिल्लो चरणमा कोरोनाका संक्रमित बिरामी भेटिएपछि गत साउन ३१ गतेदेखि दोलखा जिल्ला पूर्णरूपमा लकडाउन गर्दै आएको छ । पछिल्ला दिनमा जिल्लाका विभिन्न क्षेत्र र सदरमुकामका समेत संक्रमितको संख्या बढेपछि भदौ ११ गतेदेखि निषेधाज्ञासमेत गर्दै आएको थियो ।
२० दिनको बीचमा दोलखाभर ६ सय बढीको पीसीआर भएको छ । २ जना बढीको नतिजा अझै आउन बाँकी नै छ । सबैभन्दा बढी गौरीशंकर गाउँपालिका भित्र पिसिआर भएको छ । गौरीशंकर गाउँपालिका भित्रका चिकित्सक सहितका गाउँपालिकाका कर्मचारी र व्यापारी समेतलाई कोरोना देखिएपछि गौरीशंकर गाउँपालिका भित्र मात्र ३ सय जनाको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख बसन्त रेग्मीले बताए ।
गौरीशंकर गाउँपालिकाका संक्रमितको सम्पर्कका आधारमा बिगु गाउँपालिका र कालिञ्चोक गाउँपालिकाको सिंगटी बजार पनि उच्च जोखिममा भएकाले यस क्षेत्रबाट समेत २ जना बढीको पीसीआर भएको छ ।
बैठकले गत साउनमा बाढी र पहिरोमा परी ज्यान गुमाएका कालिञ्चोक गाउँपालिका–२ बाबरेका रेनुका थामी र वडा नं. ४ का सुरज शिवाकोटीको परीवारलाई जनही २ लाख राहत दिने निर्णय गरेको छ । त्यसैगरी गत असारमा खोलाले बगाएका भीनपा ६ का कृष्ण तमाङ र बिगु गाउँपालिका–१ का सोमती तामाङको परिवारलाई जनही १ लाख राहत दिने निर्णय गरेको छ । त्यसैगरी पहिरो पूर्ण विस्थापित भएका गौरीशंकर गाउँपालिका–८ र जिरी नगरपालिका–१ का परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्