वीरगन्जका उद्योगपति चिरञ्जीवीलाल सरावगीको निधन «

वीरगन्जका उद्योगपति चिरञ्जीवीलाल सरावगीको निधन

वीरगन्जका उद्योगपति चिरञ्जीवीलाल सरावगीको निधन भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका सरावगीको ७८ वर्षको उमेरमा उपचारको क्रममा सोमवार राति १२ः०५ मा काठमाडांैस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो ।
मृगौला र मुटुमा जटिल समस्या देखिएपछि उनलाई अतिसघन कक्षमा राखेर उपचार गरिँदै आउने क्रममा मध्यरातमा निधन भएको उनका छोरा एवं वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।
गएको साउन २२ गते उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उपचारका लागि काठमाडौ लगिएको थियो । साउन २४ गते ग्राण्डी अस्पतालमा भर्ना भएका सरावगी भदौ २ गते कोरोना संक्रमणबाट मुक्त भएका थिए ।
मुटु र मृगौलामा जटिल समस्या देखिएपछि उनको अति सघन कक्षमा राखेर उपचार गरिएको थियो । उनको भदौ १५ गते मंगलबार काठमाडौं स्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । वीरगन्जमा २००० सालमा जन्मिएका सरावगी समाजसेवीको रुपमा स्थापित थिए ।
उनी मारवाडी परिषदको केन्द्रीय अध्यक्ष, लायन्स क्लवको गभर्नर लगायत धेरै सामाजिक संघसंस्थाको नेतृत्वमा रहेका काम गरेका थिए । उनी सञ्चारक्षेत्रमा समेत संलग्न रहेका थिए । उनी नेपाल पत्रकार महासंघका सदस्य पनि रहेका थिए ।
उनका दुई छोरा र एक छोरी छन् । दुई छोरामध्ये जेठो छोरा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी हुन् । कान्छो छोरा अजय सरावगी काठमाडौंमा व्यवसाय गरेर बसेका छन् । उनी उद्योग, ट्रेडिङ, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा लगानी रहेको सरावगी ग्रुपका अध्यक्ष समेत हुन् ।
यसैबीच उनका सम्धी श्यामसुन्दर कनौडियाको पनि निधन भएको छ । विजय सरावगीकी श्रीमती विनिता कनौडियाका बुवा कनौडियाको ८० वर्षको उमेरमा निजी निवास नेपालगन्जमा निधन भएको हो । कनौडिया नेपालगञ्जका प्रतिष्ठित व्यापारी हुन् ।

प्रतिक्रिया दिनुहोस्