भर्चुअल तेक्वान्दोमा सेनाका खेलाडीले स्वर्ण जिते «

भर्चुअल तेक्वान्दोमा सेनाका खेलाडीले स्वर्ण जिते

मूलपानी तेक्वान्दो डोजाङ प्रथम भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिताको च्याम्पियन बनेको छ । ३ स्वर्णका साथ ११ पदक जित्दै मूलपानी च्याम्पियन बनेको हो ।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित दुई दिने प्रतियोगितामा १ स्वर्णसहित ४ पदक जितेको चितवन दोश्रो बन्यो भने १ स्वर्णसहित ३ पदक जितेको कैलालीले तेश्रो स्थान पायो । ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा स्युचाटार टिम, सैनिक महाविद्यालय, विजेश्वरी, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले समान १–१ स्वर्ण हात पारे ।
आइतबार सम्पन्न दोस्रो दिनको प्रतियोगितामा यु–१८ पुरुष एकलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)का काश्य विजेता अस्मिन राउतले स्वर्ण जिते भने चितवनका अब्बास खानले रजत तथा सागर बराल र कैलालीका लक्ष्मण श्रेष्ठले काश्य जिते ।
सोही उमेर समूहको महिलातर्फ सैनिककी रोशनी श्रेष्ठ पहिलो भइन् । चितवनकी जैनब खातुन दोस्रो र मूलपानीकी अस्मिता नगरकोटी र सुनसरीकी सुदेशना गुरुङ तेस्रो भए । यू–३१ पुरुष एकलमा प्रेमबहादुर लिम्बू शीर्ष स्थानमा रहे। सेनाका दीपेन्द्र गुरुङ दोश्रो भए भने मूलपानीका पुष्पप्रसाद गौतम तथा दोलखाका नोर्बु मोक्तान संयुक्त रुपमा तेस्रो स्थानमा रहे ।
महिलातर्फ निता गुरुङले स्वर्ण चुमिन् भने सन्जिला तिम्सिनाले रजत जितिन्। मूलपानीकी चन्दु शाही तथा दाङकी सुनिता विष्ट तेस्रो बने ।
पुरुष ४१ वर्षमाथि मूलपानीका मधुसूदन सापकोटाले स्वर्ण जिते । कैलालीका आशिष चन्द दोस्रो तथा रुपन्देहीका विकास उदय र गैरीगाउँका सोभितमान गिरी तेस्रो भए ।
प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा संघका अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्