Logo

थन्किएको चार वर्षपछि सञ्चालनमा

महेन्द्रनगर-कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अस्पतालमा विगत चार वर्षदेखि थन्किएको आईसीयू सञ्चालनमा ल्याइएको छ । अस्पतालमा आवश्यक जनशक्ति नहुँदा अस्पतालमा जडान गरिएको आईसीयू चार वर्षपछि सञ्चालनमा ल्याइएको हो ।
आईसीयू सञ्चालनमा ल्याइएपछि आईसीयूकै कारण रेफर भई अन्यत्र जाने बिरामीलाई भने सहज भएको छ । स्थापनाकालको ५७ वर्षपछि आईसीयू सञ्चालन गरेको अस्पतालले अहिले अरू सेवा सुविधा पनि विस्तार गर्दै लगेको छ । तर, अस्पतालमा अझै पनि जनशक्ति अभाव हुँदा समस्या भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
“दरबन्दी अनुसार अस्पताललाई २९ जना डाक्टर हुनुपर्ने हो ।” महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “आईसीयू सञ्चालन गर्ने भन्ने हाम्रो टिमको प्रतिबद्धता थियो, थोरै जनशक्तिमा पनि आईसीयू सञ्चालन गरेका छांै, हुनुपर्ने जनशक्ति अहिलेसम्मै अभावै अभाव छ ।” अस्पतालमा अहिले दरबन्दीअनुसार २९ जना डाक्टरमध्ये २३ वटा डाक्टर रहेको उनले बताए ।
यसैगरी अस्पतालले बिग्रेका र आवश्यक पर्ने नयाँ उपकरण पनि थपेको छ । बिरामीलाई महाकाली मै सबै सेवा सुविधा होस् भनेर अस्पतालले अहिले विभिन्न किसिमका सेवालाई थप विस्तार गरेको जनाएको छ ।
“फार्मेसी, आईसीयू थाइराइड, अल्ट्रासाउन्ड, श्याम आर मेसिन(हाडजोर्नीसम्बन्धी) सेवालाई थप विस्तार गरिएको छ ।, एम्बुलेन्सको संख्यालाई पनि दुइटा बनाइएको छ, र शव वहान पनि खरिद गरिएको छ,” अध्यक्ष जोशीले भने । अस्पतालले विगतमा १२ घण्टा दिने सुविधालाई पनि अहिले २४ घण्टा दिने गरिएको जोशीले बताए ।
उपकरण थप्ने क्रम बढे पनि अस्पताललाई उपकरण सञ्चालन गर्नमा भने समस्या छ । ल्याइएको जडान गरिएको मेसिन पनि विशेषज्ञ डाक्टरको अभावले थला पर्ने स्थिति छ । अस्पतालमा अहिले बालरोग विशेषज्ञ, फिजिसियन, डिआर, इन्डोस्कपी, सिटिस्केनको समस्या छ ।
“व्यवस्थापनको पाटो विगतको भन्दा अहिले धेरै सुधार गरिएको छ ।” अध्यक्ष जोशीले भने, “व्यवस्थापन सुधार गरिए पनि आवश्यक विशेषज्ञ डाक्टरको अभाव हुँदा रेफर हुने बिरामीको संख्यामा कमी आए पनि गुणस्थर रूपले सेवा दिन समस्या भएको छ ।” साढे ५ बिगाहा क्षेत्रफलमा रहेको महाकाली अस्पतालमा विशेष महत्व जनशक्तिललाई नै दिनुपर्ने जोशीको बुझाइ छ ।
डेढ सय बेडको क्षमता बोकेको अस्पतालमा पहिलेको भन्दा अहिले बिरामीको चाप भने बढेको छ । अस्पतालमा अहिले दैनिकजसो हजारदेखि दुई हजारसम्म बिरामी उपचार गराउन आउने गरेको अस्पतालले जनाएको छ । यसैगरी विगतमा रेफर सेन्टर र सुरक्षाको तवरले भरपर्दाे नभएको भन्दै प्रचार गरिएको अस्पतालमा अहिले सुविधा भएको छ ।
“विगतमा अस्पतालको अवस्था निकै दयनीय थियो, रेफर सेन्टरका नामले चिनिने गथ्यौं,” जोशीले भने, “आफ्नो कार्यकाल यता सबैसँग सहकार्य गरी अस्पताललाई केही सुधार गर्न सकेको अवस्था छ ।” अस्पतालले अहिले करारमार्फत ९ जना सुरक्षा गार्ड पनि रोखेको छ । यसैगरी डेढ सय बेड क्षमता बोकेको अस्पताललाई आउँदो दिनमा सय बेड थप्ने योजना रहेको अध्यक्ष जोशीले भने । यस्तै चिकित्सको आवासका लागि पनि अस्पताल परिसरमै अत्याधुनिक भवनसँगै थप एक भवन अत्याधुनिक अस्पतालका लागि पनि निर्माणको प्रक्रिया अघि बढाइएको छ । २०७२ सालमा नेपाल सरकारले महेन्द्रनगरस्थित महाकाली अस्पतालमा आईसीयू हस्तान्तरण गरेको आईसीयू सञ्चालनमा नआउँदा दिनहुँजसो बिरामी रिफर भएर अन्यत्र जाने गर्थे ।
फोटो ः कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अस्पताल ।

प्रतिक्रिया दिनुहोस्