मौद्रिक नीतिले रोक्न सकेन सेयर बजारमा गिरावट

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुँजी बजारलाई सम्बोधन गर्ने प्रयाश गरिए पनि लगानीकर्ताले त्यसलाई विश्वास गर्न सकेनन् । मौद्रिक नीतिपछिको पहिलो दिन नै सेयर बजार १३.६६ अंकले घटेको छ । लगानीकर्ताका कतिपय संघ संगठनहरूले मौद्रिक नीति पुँजी बजारमैत्री भन्दै प्रशंशा गरिरहेका बेला आम लगानीकर्ताले विश्वास गर्न नसक्दा बजार भने घटेको छ ।
बिहीबारको कारोबारमा सेयर बजार १.१३ प्रतिशतले घटेको छ भने कारोबार पनि ४५ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या समाधान गर्ने र ब्याजदर नियन्त्रण गर्ने मौद्रिक नीति ल्याउँदासमेत लगानीकर्ताले विश्वास गर्न नसक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यस्तै, बैंकहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिनेसम्बन्धी व्यवस्था पनि नीतिमा गरिएको छ भने मार्जिन कलमा राहत दिइएको छ । “यसले सरकारप्रति नै लगानीकर्ताको अविश्वास प्रतिबिम्बित गरेको छ,” एक लगानीकर्ता भन्छन्, “वाम सरकारप्रति लगानीकर्ताले विश्वास नै गर्न नसक्ला यस्तो अवस्था आएको हो ।” अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा हुने लगानीलाई ‘अनुत्पादक’ भन्ने गरेको र यसलाई नियन्त्रण गर्नुपर्ने पक्षमा रहेका समाचारहरू बेलाबखत सार्वजनिक भइरहन्छन् । सोही कारण सरकारप्रति लगानीकर्ता सशंकित देखिन्छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार उत्पादन तथा प्रशोधन बाहेक अन्य सूचक तथा उपसूचक ओरालो लागेका छन् । एभरेष्ट बैंकसँग मर्जरको चर्चा चलिरहँदा लक्ष्मी बैंकको सबैभन्दा धेरै ६ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ८.५१ प्रतिशतले कमाएका छन् भने नागवेली लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.७० प्रतिशतले गुमाएका छन् ।