गन्तव्यबाट बेखर्ची अलपत्र ३८३ श्रमिकद्वारा उद्दारको माग «

गन्तव्यबाट बेखर्ची अलपत्र ३८३ श्रमिकद्वारा उद्दारको माग

अलपत्र श्रमिकद्वारा कोरोना संकटका कारण महिनौदेखि बेखर्ची भएको श्रमिकले उद्दारसँग सरकारसँग अनुरोध गरेका छन् ।
सरकारले श्रमिकै खर्चमा उद्दार गरी हालसम्म ५३ हजार भन्दा बढी स्वदेश फर्काएपनि श्रम गन्तव्यमा बेखर्ची भएका ३ सय ८६ श्रमिकले उद्दारका लागि सरकारसँग अनुरोध गरेका हुन् । विभिन्न श्रम गन्तव्यमा कोरोनाका कारण रोजगार गुमाएका र बिरामी परी बेखर्ची भएका १८ महिला र ३ सय ६८ पुरुषले उद्दारका लागि वैदेशिक रोजगार बोर्डमा उजुरी दिएका छन् । कोभिड १९ का कारण लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विविध कारण गन्तव्य मुलुकहरुमा स्वदेश फिर्ता हुन नसकी अलपत्र परेका नेपाली ती श्रमिकहरुले उद्दारका लागि श्रम कल सेन्टर र सामाजिक सञ्जालमार्पmत उद्दार अनुरोध गरेका थिए । बोर्ड सचिवालयमा प्राप्त गुनासो एव निवेदनहरुका आधारमा सचिवालयबाट सम्बन्धित नियोगहरुमा पत्राचार वा इमेल गरी सहयोगका लागि अनुरोध भइरहेको बोर्डका निर्देशक दीनबन्धु सुबेदीले जानकारी दिए ।
लकडाउन अवधिमा करार अवधि समाप्त भएका, कोभिड–१९ का कारण रोजगारी गुमाएका, बिरामीलगायतका कारणले अलपत्र परेका श्रम गन्तव्यका श्रमिकको सहयोगका लागि सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावासमा अनुरोध गरी पठाइएको बोर्डले जनाएको छ । चालू आवको साउन महिनामा उद्दारको लागि २ महिलासहित ३० श्रमिकले अनुरोध गरेका थिए । केही समय अघि सर्वोच्च अदालतले श्रम स्वीकृति दिएर गएका र उद्दारको लागि मापदण्डमा परेको श्रमिकको उद्दारसँग निर्देशन दिएको थियो । अदातलको निर्देशनअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय निर्देशिक बनाई उद्दारको प्रक्रिया सुरु गरेको छ । बोर्डले वैदेशिक रोजगार ऐन र नियमावलीअनुसार वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेका श्रमिकलाई उद्दार गरिने जनाउँदै आएको छ ।
बोर्डले लकडाउन अवधीमा स्वदेश फर्कन नसकी श्रम गन्तव्यमा अलपत्र परेका नेपाली श्रमिकको राहत एवम उद्दारका यसअघि ४० लाख पठाएकोमा हाल अलपत्र पर्ने श्रमिकको संख्या बढदै गएको जनाउँदै थप ४० लाख पठाएको जनाएको छ । विभिन्न श्रम गन्तव्यबाट उद्दारका लागि आर्थिक सहायता माग भएअनुसार शुक्रबारसम्म मलेसियामा १० लाख, युएई २० लाख, साउदी अरब ३५ लाख र बहराइन १५ गरी ८० लाख पेश्की स्वरुप पठाइएको निर्देशक सुवेदीले जानकारी दिए ।
बोर्डले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका कामदारको उद्दार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका, २०७७ कार्यान्वयनमा आए लगत्तै नियोगहरुमा विवरणको लागि अनुरोध गरी परराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गरिसकेको जनाएको छ । “पहिलो चरणमा मलेसियास्थित नेपाली राजदूतावासबाट प्राप्त घरफिर्ति केन्द्रमा रहेका ८६ जना नेपाली कामदारलाई नेपाल फर्काउन हवाइ टिकट खरिदका लागि माग भए बमोजिम तीस लाख रुपैयाँ पेश्की परराष्ट्र मन्त्रालयमार्फत् पठाइएको छ,” बोर्डमा निर्देशक सुवेदीले कारोबारसँग भने, “अन्य राजदूतावासहरुमा समेत प्रमाणित विवरण पठाउन सम्पर्क एवं समन्वय भइरहेको छ ।” यसैगरी उद्दार गरी नेपाल फर्केका नेपाली श्रमिकमध्ये होल्डिड सेन्टरदेखि घरसम्म जान बेखर्ची भइ अलपत्र परेका १८७ जनालाई यातायात खर्चबापत १ लाख ९७ हजार उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्