विषम परिस्थितिसँग जुध्दै बैंकहरू «

विषम परिस्थितिसँग जुध्दै बैंकहरू

तत्कालीन आँकडा उत्साहजनक नभए पनि लगानी निर्णय गर्दा जोखिमवहन-व्यवस्थापन क्षमता, लगानीको स्रोत र लागतसमेतलाई ध्यान दिनुपर्छ । आर्थिक वर्ष २०७६-७७ को करिब चार महिना नयाँ व्यापारबिनाका पसल बनेका बैंकहरूको वित्तीय विवरणमा खर्चको भार र आम्दानीको अभाव स्पष्ट देख्न सकिन्छ । बैंकहरूको प्रस्तुत वित्तीय नतिजा आ.व. २०७५-७६ तुलनामा र अपेक्षाकृत कमजोर भए पनि (क) काबुबाहिरको विषम परिस्थिति, (ख) सबै उद्योग, व्यवसाय र आर्थिक गतिविधिमा संकुचन, (ग) राज्य र नियामकबाट थोपरिएका आर्थिक भारका बाबजुद तिर्नुपर्ने ब्याज र खर्च कटाएर थोरै भए पनि मुनाफा हासिल गर्नु सन्तोषजनक मान्नैपर्छ । चुक्ता पुँजी, सञ्चिति तथा जगेडा कोष बैंकहरूले गाभेर र बोनस सेयरबाट आव ७६-७७ मा कुल ३२.५९ अर्ब रुपैयाँले चुक्ता पुँजी बढाएर औसत १०.३५ अर्ब पु-याए । जनता गाभेर ग्लोबल आईएमईले सबैभन्दा बढी चुक्ता पुँजी १८.९८ अर्ब पु-याउँदा सिभिल ८ अर्ब रुपैयाँसहित अन्तिममा रह्यो । आव ७५-७६ कै साधारणसभा नसकेको सेञ्चुरीको घोषित २ प्रतिशत बोनस सेयर पुँजीकृत हुनै बाँकी छ । पुँजी कोषभन्दा चुक्ता पुँजीमा ध्यान दिँदा आधारभूत सूचकहरू भने खस्किँदै छन् । प्रायः बैंकहरूले पुँजीकृत गरे पनि सेञ्चुरी, सिटिजन्स, एभरेस्ट, ग्लोबल आईएमई, माछापुछ्रे, नबिल, इन्भेस्टमेन्ट, एनएमबी, प्राइम र नेपाल बैंकसँग उपलब्ध ‘सेयर प्रिमियम’ मध्ये सबैभन्दा बढी १.७९ अर्ब रुपैयाँ नेपाल बैंकसँग छ । सञ्चित कोषतर्फ बैंकहरूसँग औसतमा १.४२ अर्ब देखिँदा सबैभन्दा बढी नेपाल बैंकसँग ४.१३ अर्ब र कम सिभिलसँग २६ करोड रुपैयाँ मात्र छ । जगेडा कोषमा सबैभन्दा बढी रकम राष्ट्रिय वाणिज्यसँग १३.०९ अर्ब, नेपाल बैंकसँग १२.९९ अर्ब र नबिलसँग १२.६६ अर्ब उपलब्ध हुँदा सेञ्चुरीसँग केवल १.५४ अर्ब रुपैयाँसहित औसतमा ५.७९ अर्ब रुपैयाँ देखिन्छ । निक्षेप र कर्जा विषम परिस्थितिका बाबजुद ग्राहकहरूको बैंक निक्षेप बढेर कुल ३३ खर्ब ७५ अर्ब तथा औसतमा प्रतिबैंक १२४.९९ अर्ब रुपैयाँ पुगेको छ । असूचीकृत राष्ट्रिय वाणिज्यले रु. २३०.८३ अर्ब निक्षेप संकलन गर्दा ग्लोबल आईएमईले रु. २१२.३२ अर्बसहित सूचीकृततर्फ पहिलो हुँदा उल्लेख्य निक्षेप वृद्धिका बाबजुद सिभिल रु. ५७.५१ अर्बसहित अन्तिममा रहेको छ । ग्राहकलाई प्रवाहित कर्जा तथा सापटमा सुस्तताका बाबजुद कुल २७ खर्ब ८२ अर्ब रुपैयाँ तथा औसतमा १०३.०४ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । रु. १८९.३९ अर्ब कर्जा प्रवाह गर्दै ग्लोबल आईएमई पहिलो तथा ५१.५१ अर्बसहित सिभिल बैंक अन्तिममा रहेको छ । ext-decoration: underline;”>मुनाफा, प्रतिसेयर आय र नेटवर्थ सम्भावित कर्जा नोक्सानीका लागि थप रु. १८.७० अर्ब छुट्ट्याउने बाध्यता, ब्याज छुट र स्प्रेडमा संकुचनले बैंकहरूको खुद मुनाफा ७५-७६ को भन्दा रु. १०.४५ अर्बले घटेर कुल ५४.९५ अर्बमा सीमित भएको छ । कम कर्जा परिचालनका बाबजुद राष्ट्रिय वाणिज्यले रु. ४.४५ अर्बसहित खुद मुनाफामा अरूलाई उछिन्दा सूचीकृतमध्ये नबिलले ३.५७ अर्ब, ग्लोबल आईएमईले ३.५४ अर्ब र सिभिलले केवल ४६ करोड रुपैयाँमात्र कमाउँदा बैंकहरूले औसतमा २.०४ अर्ब रुपैयाँ खुद मुनाफा कमाए । संस्था गाभेर पुँजी बढाए पनि गाभिएकाको मुनाफा स्पष्ट नहुँदा ग्लोबल आईएमई, एनएमबी, प्राइम, कुमारी, मेगा, सिटिजन्सको यथार्थ खुद मुनाफा अन्योलपूर्ण छ । बढ्दो चुक्ता पुँजी र खस्कँदो मुनाफा अनि गाभिएकाहरूको अस्पष्ट मुनाफाले वित्तीय मानक ‘प्रतिसेयर आय’ (ईपीएस) अशुद्ध र अन्योलपूर्ण देखिए । नबिलले समेत ३७.२४ भने पनि वास्तविक ३५.३२ रुपैयाँसहित सबैलाई उछिन्दा सिभिल ३.१५ सहित कमजोर रह्यो । पाकेको तर नउठेको ब्याज ९.९३ अर्ब नियामकीय कोषमा छुट्ट्याउँदा बैंकहरूको वितरणयोग्य मुनाफा १६.३८ अर्बले घटेर ३१.२१ अर्ब रुपैयाँमा सीमित भयो । नबिलले सञ्चितलाई समेत मिसाउँदै कुल वितरणयोग्य ३.०४ अर्ब देखाएर पहिलो र २५.२१ करोड रुपैयाँसहित सिभिल अन्तिममा रह्यो । चुक्ता पुँजी वृद्धिसँगै बैंकहरूको औसत नेटवर्थ रु. १०.३५ पैसाले कमी आउँदा एनसीसीको ३७.४७, एनएमबीको ३१.९२ र नेपाल बैंकको ३२.५५ रुपैयाँले घटेको छ । बैंकहरूले औसत १७१.२८ नेटवर्थ कायम राख्दा नेपाल बैंक २६७.५० सहित उत्कृष्ट र १२५.८५ रुपैयाँसहित सिभिल नै कमजोर देखियो । पुँजी कोषको अवस्था मौद्रिक नीति र कर्जा प्रवाहमा कमीका कारण प्रायः बैंकहरू पुँजी पर्याप्तताको सहज अवस्थामा छन् । अझ काउन्टर साइक्लिकल बफरमा सहजतासँगै बैंकहरूले न्यूनतम ११ प्रतिशत र नगद लाभांशका लागि १२ प्रतिशत पुँजी कोष कायम गरे पुग्नेमा हाल औसतमा १४.१४ प्रतिशत छ । पुँजी वृद्धिका बावजुद ११.५९ प्रतिशतको पुँजी कोषले प्रभु दबाबमा र २०.४६ प्रतिशतसहित कृषि विकास बैंक अधिक पुँजीको अवस्थामा देखिएको छ । मूल्य आम्दानी अनुपात (पीई) घट्दो ईपीएस र बढ्दो-स्थिर मूल्यसँगै २०७७ भदौ ११ गते मूल्यगत जोखिम देखाउने पीई बढेर औसत १८.४५ पुगेको छ । पीईको आधारमा २६.७० सहित सबैभन्दा महँगो स्ट्यान्डर्ड चार्टड र सस्तो १२.८४ नेपाल बैंक देखिन्छ । प्रत्येक कारोबारमा परिवर्तन हुने पीईलाई केवल सन्दर्भका रूपमा प्रयोग गरिनुपर्छ । लाभांश क्षमता र लगानी निर्णय घटेको खुद मुनाफा अनि बढेको नियामकीय व्यवस्थासँगै खस्केको वितरणयोग्य मुनाफा र मिलेसम्म बाँड्ने प्रवृत्तिले रित्तिएको सञ्चित र सेयर प्रिमियमले लाभांश क्षमता निकै कमजोर र अनिश्चित देखिन्छ । केही बैंकसँग उपलब्ध स्वाप आय, नखुलाइएको मुनाफा र डिबेञ्चर रिडेम्पसनबाट फिर्ता रकमसँगै असोजभित्र असुली हुने रकमले वास्तविक लाभांश क्षमता निर्धारण गर्ने हुँदा लगानी निर्णय र व्यवस्थापन गर्दा तत्कालीन आँकडासँगै सम्भावित अवस्था केलाउनै पर्छ । वितरणयोग्य मुनाफा र सञ्चिति हेर्दा नेपाल बैंकको लाभांश क्षमता सबैभन्दा बढी देखिन्छ भने सिभिलको कम, तर ग्लोबल आईएमई, इन्भेस्टमेन्ट, प्राइम, मेगा, कुमारी, सिटिजन्ससँग उपलब्ध स्वापको रकम र गाभिएकाको मुनाफा तथा हिमालयन, लक्ष्मी, बीओके र सिद्धार्थले डिबेन्चर रिडेम्पसन फन्डको रकम परिचालन गरे लाभांश क्षमता बढ्नेछ । सूचीकृत बैंकहरूको तथ्यांकले क) खुद मुनाफा, वितरणयोग्य मुनाफा र ईपीएसमा नबिल; ख) सञ्चित, जगेडा कोष, नेटवर्थ र पीईमा नेपाल बैंक; ग) चुक्ता पुँजी, ग्राहक निक्षेप र कर्जा तथा सापटीमा ग्लोबल आईएमई; घ) पुँजी कोषमा कृषि विकास बलियो देखिँदा सिभिल प्रायः सूचकमा कमजोर छ । आर्थिक गतिविधिसँगै परिर्वतन हुने बैंकिङको तत्कालीन आँकडा उत्साहजनक नभए पनि लगानी निर्णय गर्दा ‘आशा र त्रास’को राम्ररी विश्लेषण गर्दै जोखिमवहन-व्यवस्थापन क्षमता, लगानीको स्रोत र लागतसमेतलाई ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्