पर्यटकको आवागमन रोकिँदा साहसिक खेल ठप्प «

पर्यटकको आवागमन रोकिँदा साहसिक खेल ठप्प


आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएका कारण नेपालका सहासिक खेल संकटमा परेको छ । जलस्रोत र भौगोलिक विविधताले धनी नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको छ । खासगरी अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, -याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङ जस्ता साहसिक खेलले नेपालको पर्यटन तथा खेल क्षेत्रलाई विश्वभर चिनाएको छ ।
सहासिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी समेत छ । तर, आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने यी खेललाई आयस्रोत बनाएका व्यवसायी यति बेला कोरोनाको चपेटामा परेका छन् । ती मध्येको प्याराग्लाइडिङ पछिल्लो समय पोखरामा निकै चर्चित छ । तर, यो व्यवसाय कोरोनाका कारण ठप्प छ । पोखरामा १४ वर्षदेखि प्याराग्लाइडिङ व्यवसाय गर्दै आएका चीनबहादुर बानियाँले कोरोनाले पेशा नै संकटमा परेको बताए । बानियाँले व्यवसाय सञ्चालनका लागि बैंकबाट सवारीसाधन खरिदका लागि लिइएको ऋणको किस्ता बुझाउन समस्या भएको बताए ।
नेपालमा हुने विश्वको चर्चित एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन, जुम्ला–रारा म्याराथन, काठमाडौं म्याराथन, आदि प्रतियोगिताले विश्वमा चर्चा बटुल्ने गरेका छन् । तर, अहिले यस्ता दौडका साथ बन्जीजम्प, साइकिलिङ जस्ता अन्य साहसिक खेल कोरोनका कारण आयोजना हुन सकेका छैनन् ।
विदेशबाट अल्ट्रा दौडका लागि धावकहरू सहभागिता जनाउन नेपाल आउने गरेका हुन्थे । अनि नेपालको सन्देश विश्वभर फैलिन्थ्यो । तर, अहिले समय ठीक उल्टो भएको छ । प्रतियोगिता हुन सकेका छैनन् । नेपालको पहिचान दिलाउने यस्ता खाले कार्यक्रमलाई सरकारी तवरबाट नै पहल गर्नु पर्ने कति पय सरोकावालाले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्