वीरगन्जबाट भित्रन थाल्यो रासायनिक मल «

वीरगन्जबाट भित्रन थाल्यो रासायनिक मल


कृषकबाट अत्यधिक माग रहेको रासायनिक मल भित्रन सुरु गरेको छ । कोलकाताबाट रेलबाट पठाइएको २ हजार ५ सय टन मल मंगलबार वीरगन्ज आइपुगेको हो ।
यसअघि विराटनगर नाकाबाट ट्रकबाट भित्रन थालको मल पूर्वी नेपालमा सोमबारदेखि वितरण थालिएकोमा अब देशैभरि वितरण गर्ने गरी मल आइपुगेको हो । एक लटमा २ हजार ५ सट टनको दरले ३२ हजार मेटन मल भित्रन थालेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।
वीराटनगर नाकाबाट ३५ देखि ४० ट्रक भित्रने र वरपरका क्षेत्रमा वितरण गरिने तथा रेलबाट आएको मल छिटोभन्दा छिटो देशैभरि पठाउने योजना रहेको केसीले बताए । “अनलोड गरेर लटअनुसार पठाउँदा छिटोमा एक दिनदेखि ढिलोमा तीन दिन भित्रमा २५ सयको टरले रेलबाट मल आउने क्रम सुरु भएको छ,” भोलिबाटै पश्चिम नेपाल हुँदै देशैभर मल पठाइन्छ,” केसीले भने ।
दुवै नाकाबाट हाल यो लटका ल्याइएको मल साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेडले गरेको ठेक्का अनुसारको हो । ३२ हजार मेटन बाहेक थप २० हजार मेटनको पनि ठेक्का प्रक्रिया अगाडि बढिसकेकाले केही ढिला भए पनि मल अभाव पूर्ति हुने मन्त्रालयको भनाइ छ ।
छिटोभन्दा छिटो किसानको धानखेतमा पु-याउने गरी काम भइरहेकाले मल अभावका कारण धान उत्पादन ह्रास हुनबाट जोगिने विश्वास केसीको छ । “धान पसाउनु अघि युरिया हालेमा उत्पादन वृद्धिलाई सघाउने भएकाले मलकै कारण उत्पादन घट्छ भन्ने जोखिम कम हुनेछ,” उनले भने, “पोटास र डिएमपी हामीसँग अहिले पनि स्टकमा छ, युरियाको कमी पूरा हुन थालेकाले हामी आशावादी छौं ।”
मन्त्रालयले वितरण प्रणालीमा पनि समस्या देखिएको भन्दै हालै मात्र मल वितरणसम्बन्धी नयाँ निर्देशिका पनि तयार गरेको छ । मन्त्रालयले मलखादको आपूर्ति, ढुवानी तथा विरतण सम्बन्धमा नयाँ मापदण्डसमेत बनाएर लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्