जुम्लामै विशेषज्ञ डाक्टर पढाइका लागि अनुमति «
Logo

मन्त्री भण्डारीले भने, “जुम्ला अस्पतालमा आवश्यक पूर्वाधार पनि छ । मात्रै अनुमति आवश्यक थियो सरकारले अनुमति पनि दियो अब राज्यलाई कर्णालीले दक्ष जनशक्ति दिनेमा कुनै दुईमत छैन ।”

जुम्लामै विशेषज्ञ डाक्टर पढाइका लागि अनुमति

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्नातोकोत्तर (विशेषज्ञ डाक्टर) पढाइका लागि अनुमति पाएको छ । मंगलबार प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले साउन ३० गते अनुमति दिने भनी गरेको निर्णय प्रमाणीकरण भएसँंगै जुम्लामै विशेषज्ञ डाक्टर पढाउने बाटो खुलेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामै अब (एमडीजीपी जनरल प्राटिक्स, एमडी एनेस्थेसिया, एमडी पेड्रियाटिक्स) विधाका विशेषज्ञ डाक्टरको पढाइ हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले भने, “गत साउन ३० गते भएको निर्णयको प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमाणित भएपछि विशेषज्ञ डाक्टर पढाइको बाटो खुलेको हो । अब कर्णालीबाटै राज्यलाई विशेषज्ञ डाक्टर पठाउन सक्ने सामाथ्र्य राख्ने राख्ने छौं ।”
विशेषज्ञ सेवा अध्ययन गरेर कर्णालीले मुलुकलाई नै दक्ष जनशक्ति दिने अवसरका लागि नेपाल सरकार प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग, प्रतिष्ठानका पदाधिकारीलाई धन्यवादसमेत दिइएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावल भन्छन, “मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि जुम्लामै एमडी, एमएस ५ सिट पक्का भएको छ । अब कर्णालीले एमबीबीबीएस स्वीकृतसमेत पाउने आशा छ । विशेषज्ञ डाक्टर पढाइका लागि मंगबालर नै प्रतिष्ठानलाई पत्र प्राप्त भइसकेको अस्पताल निर्देशक डा. रावलले उल्लेख गरे ।
कोरोना भाइरसको महामारी बीच पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिमले एमबीबीबीएसका लागि स्वीकृत दिन भन्दै काठमाडौमा चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालयमा दौडधुप गर्दै आएका थिए । लामो संघर्षपछि अनुमति पाउँदा कर्णालीबासी खुसी भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा कर्णाली सरकारका कानुनमन्त्री नरेश भण्डारीले सिटामोल नपाएर ज्यान गुमाउने कर्णालीबासीको गुणस्तरीय स्वास्थ्य सुनिश्चितताका लागि प्रधानमन्त्री, चिकित्सा शिक्षा आयोगले दिएको अनुमति कर्णालीका लागि वरदान भएको उल्लेख गरे ।
मन्त्री भण्डारीले भने, “जुम्ला अस्पतालमा आवश्यक पूर्वाधार पनि छ । मात्रै अनुमति आवश्यक थियो सरकारले अनुमति पनि दियो अब राज्यलाई कर्णालीले दक्ष जनशक्ति दिनेमा कुनै दुईमत छैन ।”

प्रतिक्रिया दिनुहोस्