झापामा युरिया मलको वितरण सुरु «

झापामा युरिया मलको वितरण सुरु

झापा-किसानको लामो पर्खाइपछि साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोडले बुधबारदेखि रासायनिक युरिया मल बिक्री वितरण सुरु गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको क्षेत्रीय कार्यालय विराटनगरबाट केही मात्रामा मल आइपुगेकाले बुधबारदेखि मल बिक्री वितरण गरिने बिर्तामोड शाखाका प्रमुख देवराज भट्टराईले बताए ।
उनले विराटनगरबाट एक गाडी मल आइपुगेको जानकारी दिए । “पहिलो दिन १८ वटा सहकारी संस्थालाई ५० बोराका दरले ९ सय बोरा मल वितरण गरियो” उनले भने । यसअघि गत साउन २६ गते आएको ४ सय १५ बोरा मल पनि वितरण गरिएको उनले जनाए ।
थोरै मल आएपछि त्यसलाई वितरण नगरी गोदाममा राखिएको थियो । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो डिलर रहेका सहकारी संस्थालाई सो मल वितरण गर्न थालेको हो । मलका लागि ती डिलरहरुले एक साताअघि नै नाम टिपाएका थिए । युरिया नपाएर किसानहरु समस्यामा परेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले मल आपूर्ति गरेको हो । साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोड शाखाका प्रमुख भट्टराईले झापा जिल्लाका लागि ५० हजार बोरा मल मगाएको जानकारी दिए । रासायनिक मल कहीँकतैबाट आपूर्ति नभइरहेका बेला त्यति मल किसानका लागि अपुग हुने भएको छ ।
झापा जिल्लालाई अहिलेको धान बालीका लागि ४ हजार मेट्रिक टन मल आवश्यक छ । तर, साल्ट ट्रेडिङ कर्पोरेशनले ५० हजार बोरा अर्थात २५ सय मेट्रिक टन मल मात्र आपूर्ति गर्ने भएको छ । कृषि सामग्री संस्थानले मल आपूर्ति गर्न नसक्ने भएपछि समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस्