फोहर व्यवस्थापनका विकल्प «

फोहर व्यवस्थापनका विकल्प

 चक्रपथ सरसफाइ अभियानका क्रममा शनिबार अनौठो घोषणा गरियो— मोबाइल रिजार्च गरेको कार्ड र गुट्खाका खोलहरू जम्मा गरेर बुझाए, नगद दिने । यस घोषणाले केही वर्षअघि विद्यालयको पाठ्यक्रममा पढाइ हुने, बयर साट्ने राजकुमारीको कथालाई स्मरण गराउँछ । फोहरसँग बयर साट्ने राजकुमारीको कथा नैतिक शिक्षाको एउटा गतिलो उदाहरण हो । मानिसहरूको आनीबानी सुधारमा दण्ड र पुरस्कार दुवैको उत्तिकै भूमिका रहन्छ । दण्डमात्रैका व्यवस्थाहरूले प्रभावकारी नतिजा नदिइरहेको अवस्थामा त्यसको ठीक उल्टो पुरस्कारका व्यवस्थाले उत्साहित र प्रोत्साहित दुवै काम गर्छ । काठमाडौं र ललितपुर महानगरपालिकासहित उपत्यकाका अन्य नगरपालिकाहरूका लागि समेत फोहर व्यवस्थापन जटिल समस्या बन्दै गएको छ । यो उपत्यकाभित्रको मात्र समस्या होइन, देशभरि नै विकसित गरिएका महानगर, उपमहानगर र नगरपालिकाहरूको ठूलो समस्या हो । नगरपालिका र गाउँपालिकाहरूको निर्माणसँगै तिनीहरूले प्रवाह गर्नुपर्ने सेवाको दायित्वमा पनि वृद्धि भएको छ । संघीय शासन प्रणालीले राजनीतिक र शासकीय शासन प्रणालीमात्र विकेन्द्रीकरण गरेको होइन, जवाफदेहिता र दायित्वको पनि विकेन्द्रीकरण गरेको हो । अधिकारसँगसँगै दायित्व र कर्तव्य पनि हस्तान्तरण भएको छ । तल्लो तहका जनतालाई दिनुपर्ने सेवामा सुधार हुन सकेन भने त्यसले शासकीय प्रणालीको विकेन्द्रीकरणको तात्विक भिन्नता बोध जनताले गर्न सक्दैनन् । नगरभरि यत्रतत्र थुप्रने फोहरको डंगुरले स्थानीय सरकारहरूलाई गिज्याइरहेको छ, यो अवस्था काठमाडौंबाट फैलिएर देशका प्रमुख सहरी क्षेत्रसम्म विस्तारित भइसकेको छ । आउँदा दिनमा ग्रामीण नगरहरूमा पनि यो समस्या बढ्नेछ ।
नगरभरि जम्मा भएको फोहर नदी, खोला, ताल किनारामा फ्याँक्नु वा वनक्षेत्रमा लगेर थुपार्नु मात्र फोहर व्यवस्थापनको समाधान होइन । यसरी थुप्रिँदै गएको फोहरमा विषाक्त ग्यास बनेर भोलि अर्कै किसिमको भयानक समस्या देखा पर्छ भन्ने कुरा केही समयअघि भारतको दिल्लीका फोहर केन्द्रमा भएको आगलागीले पनि पुष्टि गरेको छ । काठमाडौंको फोहर व्यवस्थापनका लागि हाल प्रयोग भइरहेको ओखरपौखा ल्यान्डफिल्ड साइट भरिँदै गएका कारण बन्चरेडाँडालाई अर्को ल्यान्डफिल्ड साइटका रूपमा पहिचान गरिएको छ । तर, अहिलेकै ढंगले फोहर लगेर फ्याँक्ने हो भने त्यो ल्यान्डफिल्ड साइटको पनि आयु धेरै लामो समय रहनेछैन भने त्यहाँ जम्मा भएको फोहरकै कारण ओखरपौखामै जस्तो जमिनमुनिको पानीमा प्रदूषणको समस्या देखा पर्ने निश्चित छ ।
विश्वभरि फोहर व्यवस्थापनका लागि नयाँ–नयाँ प्रविधिहरूको विकास हुँदै गएको छ । नेपालको हकमा त्यस्ता आधुनिक प्रविधि तत्कालै अपनाउन नसकिए पनि जैविक मल र जैविक इन्धन भित्र्याउने जुन प्रविधि अहिले भित्रिएको छ, त्यसको अधिकतम उपयोगका लागि नीति बनाउनैपर्छ । अहिलेको अवस्थामा फोहर व्यवस्थापनका लागि सहज विधि हो, कुहिने र नकुहिने फोहर छुट्याउनका लागि स्थानीय सरकारहरूले नै नगरवासीहरूलाई प्रोत्साहित गर्ने, नकुहिने फोहरमा पनि पुनःप्रयोग गर्न सकिने र नसकिने फोहरलाई अलग–अलग राख्नका लागि स्थानीय सरकारहरू आफैंले कन्टेनरहरूको व्यवस्थापन गरिदिने र असल अभ्यास देखाउने नगरवासीलाई पुरस्कृत गर्ने व्यवस्था गर्ने हो भने फोहर व्यवस्थापनका समस्या केही हदसम्म सुल्झिन सक्छ । यसका साथै ल्यान्डफिल्ड साइटहरूलाई फोहर प्रशोधन केन्द्रका रूपमा परिणत गरिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्