वैदेशिक व्यापार सुधारको बाटोमा «

वैदेशिक व्यापार सुधारको बाटोमा

लक्ष्मी सापकोटा

– २० प्रतिशत घट्यो आयात
– निर्यात ९ प्रतिशतले बढ्यो
– व्यापारघाटा २२ प्रतिशतले घट्यो
– भन्सार राजस्व १७.५ प्रतिशत कम

चालू आर्थिक वर्ष (२०७७-७८) को पहिलो महिनामा आयात २० प्रतिशतले घटेको छ भने निर्यात ९ प्रतिशतले बढ्दा व्यापारघाटामा समेत २२ प्रतिशतले कमी आएको छ । वैदेशिक व्यापारमा लामो समयदेखि व्यापारघाटा पेचिलो बन्दै आए पनि पछिल्लो एक वर्ष सुधारोन्मुख दिशामा छ ।
कोरोनाभाइरस संक्रमणका कारणले अत्यावश्यकबाहेक अन्य वस्तुको आयात नभएपछि चालू आर्थिक वर्षको पहिलो महिना साउनमा आयात घटेको हो । कोरोना महामारीबाट सिर्जित परिस्थितिका कारणले छिमेकी मुलुक भारत, चीनलगायत अन्य तेस्रो मुलुकबाट वस्तु तथा सेवाको आयात कम हुँदै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार साउनमा आयात १९.६० प्रतिशतले घटेर ८५ अर्ब ८० करोड ७९ लाख ८९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ६७ अर्ब २५ करोड ३८ हजार रुपैयाँको आयात भएको थियो । मुलुकमा बढी आयात हुने पेट्रोलियम पदार्थ, सवारी साधन लगायतका सामानको आयात नै कम भएको छ । एक महिनामै मात्र साढे ८२ अर्ब बराबरको आयात कम भएको विभागले जनाएको छ । विभागका अनुसार यो अवधिमा निर्यात भने ८.८६ प्रतिशतले बढेर ९ अर्ब ६२ करोड ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ८ अर्ब ८३ करोडको वस्तु निर्यात भएको थियो ।
भारतबाट ५६ अर्ब ३९ करोड २७ लाख १६ हजार रुपैयाँको आयात भएकोमा ६ अर्ब ३१ करोड ७९ लाख ८१ हजार रुपैयाँको सामान निर्यात भएको छ । यस्तै चीनबाट ११ अर्ब १७ करोड ९९ लाख ८ हजार रुपैयाँको सामान आयात भएकोमा ५६ करोड १० हजार रुपैयाँको निर्यात भएको छ ।
मुलुकमा सवैभन्दा धेरै मूल्यको इन्धन, सवारी साधन, उपकरण, सुनचाँदी आयात हुने गरेको थियो । पछिल्लो महिना इन्धनको समेत आयात घटेको छ भने सवारी साधन, उपकरण, सुनचाँदीलगायतको आयात पनि धेरै घटेको छ । इन्धनको आयात घटेर एक महिनामा ८ अर्ब रुपैयाँ ४० करोडमा झरेको विभागको तथ्यांक छ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि नियन्त्रण गर्नका लागि सवारी साधानमा जोरबिजोर गर्दा इन्धनको खपत कम हुँदा आयातमा समेत कमी आएको छ । छिमेकी मुलुक भारतसँगै नेपालको व्यापारको हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको छ । मुलुकमा आयात र निर्यात भारतबाटै सवैभन्दा धेरै हुने गर्छ ।

व्यापार घाटा २१ अर्ब कम
साउनमा व्यापारघाटा २२ प्रतिशतले घटेको विभागको तथ्यांक छ । गत वर्ष ९७ अर्ब ८८ करोड ८२ लाख ३२ हजार रुपैयाँको व्यापार घाटा रहेकोमा यस वर्ष साउनमा ७६ अर्ब १८ करोड ७९ लाख ४० हजार रुपैयाँ रहेको विभागको तथ्यांक छ । आयातबाट २१ अर्ब ८७ करोड ६० लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । गत वर्ष सोही अवधिमा २६ अर्ब ५२ करोड ७६ लाख ६६ हजार राजस्व संकलन भएको थियो । विभागका अनुसार, एक महिनामा भन्सारबाट आउने राजस्व ४ अर्ब ६५ करोड बराबर घटेको छ, जुन झण्डै साढे १७ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्