स्थानीय तहमा १० बेडको आइसोलेसन अनिवार्य हुनुपर्ने भए पनि जुम्लामा ५० बेडको आइसोलेसन बनाउन थालिएको हो ।
जुम्लाका ८ वटै तहमा ५० बेडको आइसोलेसन
सागर परियार
लक्षण देखिएकालाई मात्र प्रतिष्ठानमा ल्याइने
जुम्लाका एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा पालिकास्तरीय आइसोलेसन निर्माण तीव्र रूपमा भइरहेका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएपछि लक्षण देखिएका बाहेक सबैलाई पालिकामै व्यवस्थापन गर्न आठै स्थानीय तहमा ५० बेडको आइसोलेसन निर्माण भइरहेको हो । जसमा पहिलो यहाँको हिमा गाउँपालिकामा ५० बेडको आइसोलेसन निर्माण भएर संक्रमित बसिसकेका छन् ।
हिमाको कालिका मावि र भैरब आधारभूत विद्यालयमा गरी ५० बेडको आइसोलेसन तयार भएर संक्रमित राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । हिमामा दुईदिनमा ६३ जना संक्रमित भेटिएपछि ९ जनालाई प्रतिष्ठानमा र बाँकीलाई हिमामै राखिएको हो ।
उनले भने, “पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दा सबै क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । एक साताभित्रै जुम्लामा करिब ७३ जना संक्रमित भएका छन् । सबैलाई प्रतिष्ठानको आइसोलेसनमा ल्याउनुभन्दा लक्षण देखिएका बाहेक अन्यलाई सम्बन्धित स्थानीय तहमै राख्दा संक्रमण कम हुने निर्णयका साथ आठै तहमा ५०÷५० बेडको आइसोलन तयार भइरहेका छन् ।
सोही क्रममा यहाँको तातोपानी गाउँपालिकाले पनि ५ लाखको लागतमा हिमशिखर माविमा ५० बेडका आइसोलेसन तयार गरेको छ । ५ वटा शौचालय, खानेपानी धारा तथा फलामको बेड तयार भएको पालिकाका प्रशासन प्रमुख अंगराज डाँगीले जानकारी दिए । अपरझट संक्रमित भइहाले पनि पालिकामै राख्न समस्या नरहेको र पूर्ण तयारीमा रहेको उनको भनाइ छ । आइसोलेसन व्यवस्थापन तथा औषधी उपचारका लागि आएको ९ लाख २० हजारमध्ये पूर्वाधार व्यवस्थापनमा ५ लाख खर्च भएको ४ लाख बाँकी रहेको डाँगीको भनाइ छ ।
उता सिंजा गाउँपालिकका अध्यक्ष देवलसिंह रावल भन्छन्, “सिंजामा पनि ५० बेडको आइसोलेन बनाउने अन्तिम तयारी पूरा भएको छ । सामग्री बाहिरबाट ल्याएका थियौं । तर, कर्णाली राजमार्ग अबरुद्ध हुँदा सामान आएको छैन । तर, समस्या भइहालेमा क्वारेन्टाइनका सामानलाई प्रयोग गरी व्यवस्थापन गर्ने छौं ।”
साथै कनका सुन्दरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विपिन अधिकारीले कोटघर स्वास्थ्यचौकीमा २५ र हाटसिंजामा २५ गरी ५० बेडको आइसोलेन तयारी भइरहेको बताए । सदरमुकामबाट मंगलबार नै सामान पठाइसकिएको छ भने यता पातारासी गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिकामा पनि आइसोलेन बेड निर्माण भइरहेको प्रशासनले जनाएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सिंजा क्षेत्रमा आइसोलेनको व्यवस्थापनका लागि अनुगमन निरीक्षण गर्न टोली गएको छ । स्थानीयतहमै आइसोलेसन व्यवस्थापन गर्न तथा संक्रमण फैलावटलाई रोक्न नागरिक सचेत रहन आग्रह गर्नका लागि पनि टोली गाउँमा गएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए । उनका अनुसार सबै संक्रमित प्रतिष्ठानमा ल्याउँदा संक्रमण झनै बढ्छ । त्यसैले कोरोनाको लक्षण देखिएकालाई मात्र प्रतिष्ठानमा लिने बाँकीलाइ स्थानीय तहमै राख्दा संक्रमण कम हुन्छ ।
सहजै रूपमा चिकित्सक पुग्न सक्ने, एम्बुलेन्स पुग्न सक्ने र सुरक्षाका हिसावले अनुकूल क्षेत्रमा आइसोलेसन निर्माण गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिए । कोरोना संक्रमित देखिएसँगै जुम्लामा लकडाउन निकै कडा पारिएको छ । स्थानीय तहमा १० बेडको आइसोलेसन अनिवार्य हुनुपर्ने भए पनि जुम्लामा ५० बेडको आइसोलेसन बनाउन थालिएको हो ।