दुई दशकपछि इंग्ल्याण्ड र क्रोएसियाको सेमिफाइनल भिडन्त

विश्वकपको दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्याण्ड र क्रोएसिया भिड्दैछन् । दुई यूरोपियन टोलीबीचको भिडन्त नेपाली समयअनुसार राति ११ः४५ मा सुरु हुनेछ । दुवै टोली दुई दशकपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका हुन् । रसिया विश्वकप सुरु हुनुपूर्व र सुरु हुँदै गर्दा सायद कमैलाई लागेको थियो कि इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनल पुग्नेछन् ।
अघिल्ला विश्वकपमा उनीहरूको प्रदर्शन हेर्दा र विश्वकप पूर्व भएका मैत्रीपूर्ण खेललाई हेर्ने हो भने पनि यो कुरा अनुमान गर्ने अवस्था थिएन । तर, दुवै टोलीले रसियामा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाए । क्रोएसिया १९९८ पछि विश्वकपको सेमिफाइनलमा पुगेको हो भने इंग्ल्याण्ड १९९० पछि सेमिफाइनलमा पुगेको हो ।
बलियो मिडफिल्ड भएको क्रोएसिया र नयाँ शैलीमा, फरक–फरक रणनीतिमा खेलिरहेको इंग्ल्याण्डबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । अन्तिम ८ मा क्रोएसियाले आयोजक राष्ट्र रसियालाई टाइब्रेकरमा हराएको थियो भने इंग्ल्याण्डले स्विडेन माथि २–० को जित निकालेको थियो ।
इंग्ल्याण्ड दोस्रो पटक उपाधि जित्ने अभियानलाई बलियो बनाउन सेमिफाइनलमा क्रोएसियालाई पन्छाउने दाउमा हुनेछ । तर क्रोएसिया इंग्ल्याण्डका लागि सहज प्रतिस्पर्धी पक्कै होइन । उसले समूह चरणमा उपाधि दाबेदारका रूपमा हेरिएको अर्जेन्टिना माथि ३–० को सनसनीपूर्ण जित निलेको थियो ।
क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुग्न चाहन्छ र विश्वकपको उपाधि जित्दै इतिहास बनाउन चाहन्छ । तर स्टार खेलाडीले भरिएको इंग्ल्याण्डलाई सेमिफाइनलमा हराउनु उसका लागि निकै चुनौतिपूर्ण हुनेछ । त्यसैले दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमान्चक हुने अपेक्षा गरिएको छ ।
यस्तो छ इतिहास
फिफा विश्व वरियतामा इंग्ल्याण्ड १२ औं स्थानमा रहँदा क्रोएसिया २० औं स्थानमा छ । दुई टोलीबीच अहिलेसम्म ७ पटक भेट भएको छ । जसमा इंग्ल्याण्ड ४ पटक विजयी भएको छ भने क्रोएसियाले २ जित दर्ता गरेको छ । १ खेल भने बराबरीमा सकिएको छ । इंग्ल्याण्डले क्रोएसिया विरुद्ध १८ गोल गर्दा क्रोएसियाले १० गोल फर्काएको छ । रसिया विश्वकप एकपटकको विश्वविजेता इंग्ल्याण्डका लागि १५ औं विश्वकप हो भने क्रोएसियाका लागि पाँचांै विश्वकप हो । विश्वकपमा दुई टोलीबीच अहिलेसम्म २ पटक भेट भएको छ । दुवै खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।
सम्भावित लाइनअप
क्रोएसियाः डानीजेल सुबासिक, सिम भर्सलजको, देजन लोभरेन, डोमागोज भिडा, इभान स्ट्रिनिक, इभान राकिटिक, मार्सेलो ब्राजोभिक, एन्टे रेबिक, लुका मड्रिक, इभान पेरिसिक, मारियो मन्डजुकिक ।
इंग्ल्याण्डः जोर्डन पिकफोर्ड, केलि वाल्कर, जोन स्टोन्स, ह्यारी मग्यूरे, कियरन ट्रिपपियर, डेली अली, जोर्डन हेन्डर्सन, जेसी लिंगार्ड, एशले योङ, रहिम स्टर्लिङ, ह्यारी केन ।
प्रेडिक्सनः २–० (इंग्ल्याण्ड)
इंग्ल्याण्ड विरुद्ध ब्रिटेनका अन्य देश
ओलम्पिकमा ब्रिटेनको एकै टिम हुन्छ । तर फुटबलमा भने ब्रिटेनका देशहरू एकअर्काका प्रतिस्पर्धी हुन्छन् । स्कटल्याण्ड, वेल्स, उत्तरी आयरल्याण्ड र इंग्ल्याण्ड फुटबलमा एकअर्काका प्रतिस्पर्धी हुन् । त्यसैले रसिया जारी विश्वकपममा ब्रिटेनका अन्य देश इंग्ल्याण्डको हारको कामना गरिरहेका छन् । ग्यारेज साउथगेटको टोलीले रसियामा जारी विश्वकपमा गरेको सनसनीपूर्ण प्रदर्शन अन्य देशलाई राम्रो लागिरहेको छैन । इंग्ल्याण्ड ब्रिटेनको सबैभन्दा बलियो देश हो । जोसँग पर्याप्त स्रोत साधन र खेलाडी छन् र सफलता पनि अन्य देशको तुलनामा बढी हात पारेको छ । स्कटल्याण्डका पूर्व विन्बल्डन च्याम्पियन एन्डी मरेले २००६ को विश्वकपमा भनेका थिए, उनी इंग्ल्याण्ड बाहेकका अन्य टिममलाई समर्थन गर्छन् । स्कटल्याण्डको द नेशनल पत्रिकाले हालै लेखेको छ, ‘हामी सेमिफाइनलमा क्रोएसियाको पक्षमा छौं ।’
वेल्समा मानिसहरूले इंग्ल्याण्डका सबै प्रतिद्वन्दी टिमको झण्डा फहराउने गरेका छन् । इंग्ल्याण्डका हरेक खेलमा उनीहरूले विपक्षी टोलीलाई समर्थन गरिरहेका छन् । बीबीसी रेडियो वेल्सलाई एक ट्वीट समेत मेट्नुपरेको थियो । इंग्ल्याण्ड क्वार्टरफाइनलमा पुगेपछि उसले ट्वीट गरेको थियो, ‘के हामी अब इंग्ल्याण्डलाई साथ दिन्छौं ?’ वेल्स फुटबल संघले जवाफमा लेखेको थियो, ‘हामी अहिले वेल्सको पक्षमा छौं, के बीबीसी वेल्स छैन ? ।’