शिल्प व्यवसायी संघद्वारा सुनचाँदी व्यवसायीको कोरोना बिमा «

शिल्प व्यवसायी संघद्वारा सुनचाँदी व्यवसायीको कोरोना बिमा

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले आफ्ना सदस्यहरूको निःशुल्क कोरोना बिमा गरेको छ । सुनको मूल्य अस्वभाविक रूपमा बढ्दै गएपछि सुनचाँदी व्यवसायमा देखिएको व्यवसायिक कठिनाई तथा कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गर्दै संघले उनीहरूको बिमा गरेको बताएको छ ।
संघले अजोड इन्स्योरेन्स कम्पनीमार्फत प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमांकमा आफ्ना सम्पूर्ण सदस्यहरूको बिमा गरेको जानकारी दिएको छ । संघका अध्यक्ष टंकबहादुर बराइलीले कोरोनाको जोखिमकै बीचमा पनि सञ्चालन गर्नु पर्ने अवस्थालाई दृष्टिगत गर्दै व्यवसायीहरूको बिमा गरेको बताए ।
कोरोनाको माहामारीसँग जुधिरहेका व्यवसायीहरू संक्रमित भइहाले आर्थिक रूपमा पर्न सक्ने सम्भावित अप्ठ्यारोलाई दृष्टिगत गर्दै बिमा कार्यक्रम ल्याएको उनको भनाइ छ । बन्दाबन्दीले थला परेको नेपाली अर्थतन्त्रमा महंगो सुन खरीद गर्ने उपभोक्ताको अभावमा झन् लथालिंग बनेको छ ।
यसरी व्यवसाय पनि संकटतर्फ उन्मुख हुनु र अर्कोतर्फ कोरोनाको महामारी दिनप्रतिदिन बढ्नाले व्यवसायमा थप समस्या देखिएको भन्दै यस विषम् परिस्थितिमा बिमा कार्यक्रम अपरिहार्य जस्तै भएको पनि अध्यक्ष बराइलीले बताए ।

प्रतिक्रिया दिनुहोस्