Logo

नेपालगन्जको बजेट पारित

नेपालगन्ज-२ अर्ब ४३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको बजेट पारित गर्दै नेपालगन्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । नगरसभाले नेपालगन्जलाई सफा र हरित उपमहानगर बनाउने सर्वसम्मत निर्णय गरेर सो त्यसलाई विशेष प्राथमिकतामा राख्ने निर्णय पनि गरेको छ । उपमहानगरको तेस्रो नगरसभाले आर्थिक वर्ष ०७५-७६ का लागि २ अर्ब ४३ करोड ३८ लाख ३८ हजार ३६ रुपैयाँको बजेट पारित गर्दै सफाई र वृक्षरोपणलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको हो ।
नगरसभाले नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक विधेयक र विनियोजन विधेयक स्वीकृत गर्दै नगरको समग्र विकासका लागि ४६ वटा महत्वपूर्ण निर्णयसमेत गरेको नगरप्रमुख डा. धवलशमसेर राणाले बताए । नगरसभाले आर्थिक वर्ष ०७५-७६ लाई वातावरण, सरसफाई तथा हरियाली वर्षका रुपमा लिइने लक्ष्यसहित नगरस्तरीय योजना तथा कार्यक्रम, लक्षित वर्गका कार्यक्रम, प्रवद्र्धनात्मक कार्यक्रम, वडास्तरीय कार्यक्रम, विषयगत शाखामार्फत सञ्चालन हुने कार्यक्रम समेतको वजेट पारित गरेको उनले जनाए ।
उनका अनुसार स्वीकृत आर्थिक विधेयकले करको दररेट, सेवाशुल्क, भाडा तोक्ने र करका नीतिहरु समावेश आर्थिक विधेयक राजश्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धिमा मद्दत पु¥याउने विश्वास गरिएको छ ।
बन्दसत्रमा व्यापक छलफलपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६९ (४) र दफा ७३ (२) को व्यवस्थाअनुसार वडास्तरबाटै अधिकृतस्तरको कर्मचारी र लेखा कर्मचारी उपमहानगरपालिकाले उपलव्ध गराएर तत्काल खाता खोल्ने निर्णयसमेत गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १३ बमोजिम न्यूनतम दररेट निर्धारणमा एकरुपता ल्याउन सरोकारवालासँगको समन्वयमा न्यूनतम दररेट निर्धारण गर्न नगर कार्यपालिकालाई अधिकार दिने, बेरुजु असुलीका लागि आवश्यक कारबाही गर्न पहल गर्ने, उपमहानगरपालिकाको लेखा प्रणालीमा सुधार ल्याई समय सापेक्ष लेखा प्रणाली लागू गर्ने, सरसफाईलगायत नगरवासीको हकहितसँग प्रत्यक्ष सम्बन्धित कार्य सार्वजनिक–निजी–साझेदारी अवधारणाअनुसार सञ्चालन गर्ने, नगर क्षेत्रमा निर्माण हुने सरकारी-सार्वजनिक भवनको नक्सा अपांगमैत्री बनाउने नीतिलाई अवलम्बन गर्नेलगायतका निर्णय पनि गरिएको छ ।
विद्युतीय शवदाहगृह निर्माणको सम्भाव्यता, वर्तमान कर प्रणालीमा सुधार, फोहरमैला तथा विपद् व्यवस्थापन, सरसफाई तथा वातावरण संरक्षणमा विशेष पहल गर्ने, आधुनिक एवं सुविधा सम्पन्न स्टेडियम निर्माण गरिने, कैलाश मानसरोवर मन्दिरलगायत अन्य संरचना निर्माण गर्ने, गल्र्स कलेजको स्थापना गर्ने, मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने सूर्तिजन्य र मदिराजन्य पदार्थको ओसारपसार, बेचविखन र उपयोगलाई निरुत्साहन गर्न विद्यालयको हातादेखि २ सय मिटरको क्षेत्रलाई सूर्तिजन्य एवं मदिराजन्य पदार्थको निषेधित क्षेत्र घोषणा गर्ने आदि निर्णय नगरसभाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्