Logo

भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई सबै भेडा मरेपछि व्यावसायिक रूपमा रोजीरोटी नै खोसिएको छ ।

चट्याङ लागेर भेडा मर्दा १७ लाखको क्षति


जु्म्लाको पातारासी गाउँपालिकाको पाटनमा चट्याङ लागेर २ सय १७ भेडा मरेका छन् । सोमबार वर्षासँगै लागेको चट्याङमा परी पातारासी गाउँपालिका ४ का ११ जना किसानका २ सय १७ भेडा मरेको प्रहरी चौकी डिल्लीचौरले जनाएको छ । प्रहीले मुचुल्का उठाउँदा २ सय १७ भेडा मरेको पुष्टि गरेको छ । डिल्लीचौर चौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर शाहीले पातारासीको बागजाले सामुदायिक वन अन्तरगर्तको (ढाणखर्क मासिमसेरा) भन्ने पाटमा राखिएका ११ जना किसानका भेडा मरेको बताए हुन् । उनका अनुसार जयभक्त बुढाका ३८, तिलसिंह बुढाका ३५, जयबहादुर बुढाका ३६, जयलाल बुढाका ३५, धनबहादुर बुढाका ३०, वीरचन्द्र बुढाका २० वटा भेडा मरेका हुन् ।
यस्तै कर्ण बुढाका ११, सुक बुढा ६, चन्द्ररुपा बुढाका २, सिंहबहादुर बोहोराका १ र सूर्यबहादुर बुढाका ३ गरी २ सय १७ वटा भेडा मरेको प्रहरीले जनाएको छ । सरदर एक भेडाको ८ हजारका दरले गर्दा १७ लाख ३६ हजार बराबरको नोक्सान भएको प्रहरीले जनाएको छ
पातारासी ४ का जयबहादुर बुढाले भेडापालन सुरु गरेको दुई दशकभन्दा बढी भयो । भेडा पालनकै आम्दानीबाट उनको घर व्यवहार चल्थ्यो । तर चट्याङ लागेर सबै भेडा मरेपछि व्यवसायबाट विस्थापित हुने अवस्था आएको उनको दुखेसो छ । अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको बताए ।
चरण क्षेत्रमा परेको चट्याङले पातारासी गाउँपालिकाका भेडा पालक किसानको पुख्यौली पेशलाई नै बन्द गर्ने अवस्था आइलाग्यो । अर्का किसान जयभक्त बुढाले भने, “मेरा ३८ भेडा मरे, अब आयस्रोतको कुनै माध्यम छैन । बिमा पनि गरिएन्, अब कसरी परिवाल पाल्ने चिन्ता छ ।”
किसानले भेडाको बिमा गरेका छैनन् । चरणका लागि पाटनमा राखिएका सबै भेडा मरेपछि किसान चिन्तित बनेका हुन् । चट्याङ परेर भेडा मरी मारमा परेका ११ किसानलाई आवश्यक राहत उपलब्ध गराइने भएको छ । पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा भन्छन्,“किसानले बिमा गरेको पनि भेटिएन् १७ लाख बराबरको क्षति भएको छ । पूरै राहत दिन नसकेपनि उनीहरुलाई थोरै भएपनि व्यवसाय पुर्नउत्थानका लागि राहत दिइने छ ।”
पातारासी क्षेत्रका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापान हो । भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई सबै भेडा मरेपछि व्यावसायिक रूपमा रोजीरोटी नै खोसिएको छ ।

प्रतिक्रिया दिनुहोस्